सफलताकाे कथा : बुवाले खुदो बेचेर पढाएका ६ छोराहरु, दुई भाइ सिडियो ४ भाइ बने हाकिम

लाेकसेवा तयारी समाज

गुल्मी । गुल्मीको साविक बलेटक्सार गाविस–८ (हाल रुरु गाउँपालिका–४) ठानीडाँडाका बुद्धिप्रसाद पन्थ (८४) को उच्च शिक्षा अध्ययन गर्ने ठूलो इच्छा थियो । पारिवारिक कारण र आर्थिक अवस्थाले गर्दा उनले त्यो बेला सामान्य लेखपढ गर्न जान्नेबाहेक माथिल्लो तहसम्म पढ्न पाएनन् ।

आफ्नो इच्छा र चाहना हुँदाहुँदै पनि अध्ययन गर्न नपाए पनि छोराहरूलाई भने दुःख गरेर पनि उच्च शिक्षा पढाउने पन्थको अठोट थियो । त्यो समयमा पन्थको परिवार निम्नमध्यम वर्गीय थियो । पन्थका ६ छोरा छन् ।

गुल्मीको बलेटक्सार, रिडी र थोर्गा खुदोका लागि प्रख्यात ठाउँ हो । साविक पश्चिमाञ्चल क्षेत्र (हाल प्रदेश ५) गुल्र्मीको थोर्गाको खुदो भनेपछि सबै हुरुक्क हुन्छन् । पन्थको परिवारले पनि उखु खेती गर्थ्यो । उनले उखु लगायत अन्य कृषि पेशामा दुःख गरेरै भए पनि ६ छोरोलाई उच्च शिक्षासम्म पढाए । छोराहरू सबै पढाइमा अब्बल भएर निस्किए ।

सबै भाइहरूले आदर्श मावि दिगाम–७ मा अध्ययन गरे । शुरूमा त्यो विद्यालय निम्न माध्यमिक तहसम्म थियो । ६ भाइमध्ये जेठा यदुुलाल पन्थ र माहिला छोरा कृष्णप्रसाद पन्थले रिडीस्थित विद्यालयबाट एसएलसी उत्तीर्ण गरे भने अन्य सबै भाइले आदर्श माविबाटै एसएलसी राम्रो अंकका साथ उत्तीर्ण गरे ।

पन्थको सपनासँगै सबै भाइ पढाइ सकेर सरकारी सेवाको उच्च पदमा पुगेका छन् । सबै भाइले उच्च शिक्षा काठमाडौंमा अध्ययन गरी सरकारी सेवा प्रवेश गर्ने निजामती सेवाको तयारी पनि गरे । सरकारी सेवामा नाम पनि निकाले ।

जब ६ भाइमध्ये जेठा सरकारी सेवामा प्रवेश गरे, त्यसपछि सबै भाइलाई सरकारी सेवामा प्रवेश गर्ने लोभ पलायो । सबै भाइको उमेर २–२ वर्ष मात्र फरक छ । त्यहीँ अनुसार निरन्तर मेहनतका साथ अध्ययन गरेर सबै भाइ सरकारी सेवामा माथिल्लो तहसम्म पुग्न सफल भए । सबै भाइ सरकारी सेवामा खुला प्रतिस्पर्धाबाट नाम निकालेर उच्च पदमा पुगेका हुन् । सम्भवतः नेपालमा यस्तो परिवार कमै होला । ६ भाइ कुन–कुन सेवाको कुन पदमा पुगे त ?

जेठा : यदुलाल पन्थ (क्याम्पस प्रमुख रामापुर, रूपन्देही)

यदुलाल पन्थ अहिले रूपन्देहीको सैनामैनास्थित सामुदायिक शहीद नारायण पोखरेल रामापुर क्याम्पसका क्याम्पस प्रमुख छन् । उनी ३० को दशकमा सरकारी शिक्षक थिए । २८ वर्ष सरकारी शिक्षण पेशापछि यदुलालले राजीनामा गरी क्याम्पस प्रमुख बनेर अहिले शिक्षा क्षेत्रमै कार्यरत छन् । उनी अहिले ९०० विद्यार्थी अध्ययनरत कलेजका प्रमुख छन् ।

माइला : कृष्णप्रसाद पन्थ (प्रमुख जिल्ला अधिकारी, प्युठान)

बुद्धिप्रसादका माइला छोरा हुन् कृष्णप्रसाद । जब यदुलालले शिक्षक सेवाबाट सरकारी सेवामा प्रवेश गरे, कृष्णप्रसादलाई पनि सरकारी जागिर खाने हुटहुटी चल्यो । उनले नेपाल ‘ल’ क्याम्पसबाट स्नातकोत्तर गरेका छन् । कृष्णप्रसादले २०४२ सालमा मुखियाबाट निजामती सेवामा प्रवेश गरेका हुन् । त्यसपछि खरिदार, वाणिज्य बैंकमा नायव सुब्बा, शाखा अधिकृत, हुँदै उपसचिव बने । उनी पाल्पा हुँदै अहिले प्युठान जिल्लाको प्रमुख जिल्ला अधिकारी छन् । उनी सहसचिवको तयारीमा छन् ।

साइला : माहादेव पन्थ (प्रमुख जिल्ला अधिकारी, रूपन्देही)

माहादेवले व्यवस्थापन संकायबाट स्नातकोत्तर गरेका छन् । उनी २०४४ सालमा मुखियाबाट निजामती सेवामा प्रवेश गरेका हुन् । उनले पनि काठमाडौंबाटै नाम निकाले । त्यसपछि उनी सलेप (सहायक लेखापाल), नायव सुब्बा, अधिकृत, उपसचिव हुँदै अहिले सहसचिव छन् । काठमाडौंबाट नाम निकाले पनि उनले सरकारी सेवा भने काभ्रेबाट शुरू गरे । काभ्रेपछि पाल्पा, प्युठान, रुकुम, जुम्ला, बाग्लुङ, रोल्पा, धनकुटा, कैलाली, तनहुँ, नवलपरासी, सुर्खेत, काठमाडौं हुँदै अहिले रुपन्देहीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) को रुपमा कार्यरत छन् । कार्यरत जिल्लामध्ये माहादेव ९ जिल्लामा प्रमुख जिल्ला अधिकारी भए । माहादेव अब सचिवमा बढुवाको तयारीमा छन् ।

काइला : रविलाल पन्थ (आन्तरिक मामिला तथा कानून मन्त्रालय, प्रदेश ५ बुटवलको सचिव)

रविलालले अर्थशास्त्र र राजनीतिशास्त्रमा एमए गरेका छन् । उनी २०६२ जनप्रशासन एनपीएको गोल्डमेडलिस्ट समेत हुन् । उनले २०५३ सालदेखि राष्ट्र बैंकको खरिदार सरह सहायक द्वितीयबाट सेवा शुरू गरेका हुन् । त्यसको ३ वर्षपछि रविलालले २०५७ सालमा शाखा अधिकृतमा नाम निकाल्न सफल भए ।

अधिकृतमा नाम निकालेपछि उनको पहिलो पदस्थापन जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरको प्रमुखको रुपमा भयो । त्यसपछि वन मन्त्रालय, त्यसपछि लोकसेवा आयोग क्षेत्रीय निर्देशालयन कास्की पोखराको प्रमुख भए । फेरि लोकसेवा आयोगको कार्यालय काठमाडौं आए । त्यसपछि उनी दाङ, महोत्तरी, सुनसरी, बाँके गरी ४ जिल्लाको प्रमुख जिल्ला अधिकारी भए । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत, बुटवल हुँदै अख्तियार टंगाल काठमाडौंमा पनि काम गरे । अख्तियारपछि उनी सामाजिक विकास मन्त्रालय प्रदेश १ मा दुई महिना काम गरेपछि अहिले प्रदेश ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सचिवको रुपमा कार्यरत छन् । २०६३ सालमा उपसचिव हुँदै २०६९ सालदेखि हालसम्म सहसचिव छन् । अब उनी सचिवको तयारीमा छन् ।

राइँला : विष्णुप्रसाद पन्थ (नेपाल टेलिकमको अधिकृत काठमाडौं)

विष्णुले पनि अर्थशास्त्रमा एमए गरेका छन् । उनी पनि खरिदार तहबाट २०४८ सालमा सरकारी दूरसञ्चार क्षेत्र नेपाल टेलिकमको सेवामा प्रवेश गरेका हुन् । खरिदार हुँदै अहिले उनी अधिकृत तहमा काठमाडौंस्थित टेलिकममा कार्यरत छन् ।

कान्छा : डा. नुरापति पन्थ (टीयूको भौतिकशास्त्र सहप्राध्यापक, सहसचिव सरह)

नुरापति विज्ञान विषयका विद्यार्थी हुन् । उनले २०६४ सालमा प्राध्यापकमा खुला प्रतिस्पर्धाबाट नाम निकालेर त्रिभुवन विश्वविद्यालयमा प्रवेश गरेका हुन् । त्यसअघि उनले काठमाडौंका विभिन्न निजी कलेजमा प्राध्यापन गर्थे । उनी टीयूको भौतिक शास्त्रतर्फको सहप्राध्यापक सहसचिव सरहको पदमा रहेर कार्यरत छन् । उनले इटालीबाट पीएचडी समेत गरेका छन् ।

निरन्तरको अध्ययनले सबै भाइलाई सफलता

रवि भन्छन्, धेरै ठाउँमा बस्दा खर्च धेरै हुने भएपछि हामी सबै काठमाडौंमा बसेर पढियो । २ वटा खाटलाई जोडेर ४ भाइले घुडा धसेर पढियो ।’ उनीहरूले ६ महिनालाई पुग्ने चामल र दाल घरबाटै लैजान्थे । बुद्धिप्रसादले छोराहरूलाई पठाउने खाद्यान्न पाल्पाको तानसेनसम्म बलेटक्सारबाट भरिया नै लगाएर ल्याउँथे र पाल्पाबाट काठमाडौं गाडीमा पठाइदिन्थे । निरन्तरको अध्ययन, विषयवस्तुको ज्ञान र प्रतिस्पर्धालाई ध्यान दिएर अध्ययन गरेमा लोक सेवा उत्तीर्ण गर्न सकिने मन्त्रालयका सचिव रविलाल बताउँछन् ।

सबै भाइले निजी क्षेत्रको जागिरका लागि इच्छा पनि गरेनन्, भनसुनतर्फ पनि लागेनन् । निरन्तर अध्ययन गरेपछि सबै भाइ सफल भए । ‘लोक सेवा आयोगको परीक्षा दिनुभन्दा अघि मेहनत गरेर अगाडि बढे भने सफल भइन्छ भन्ने विश्वास र भरोसा हुनैपर्छ । लोकसेवा आयोगमार्फत् हुने सम्पूर्ण जाँचहरू निष्पक्ष हुन्छन्,’ रविलालले भने ।

याे पनि पढ्नुस्

लोक सेवाका परीक्षार्थीले अक्सर गर्ने गल्तिहरु

लोक सेवामा असफल हुनुको कारण नजानेर मात्र हुँदै होईन । कहिलेकाँही विद्यार्थीले गर्ने सानासाना कमजोरीले पनि लोक सेवामा असफलता हात लागिरहेको हुन्छ ।

ती कमजोरी पहिचान गरेर सुधार गर्न सकेमा लोक सेवाको सफलता धेरै नजिक हुनेछ ।

तर त्यस्तो कमजोरी पहिचान गर्ने र सुधार गर्ने काम भने आफैँमा चुनौतीपूर्ण हुन्छ ।

लोक सेवा तयारीसम्वन्धी पढाउने र लोक सेवाको उत्तरपुस्तिका जाँच गर्नेहरुसँगको कुराकानीमा लोक सेवामा परिक्षार्थीहरुले अक्सर गर्ने गल्तिहरु पहिचान गरेका छौँ ।

– नबुझिकन धेरै कुरा पढ्ने, अव्यवहारिक कुराहरु पढ्ने ।

– सन्दर्भभन्दा बाहिर गएर जे पायो त्यही पढ्ने । पढ्नुपर्ने विषयमा पनि अनावश्यक रुपमा पढ्ने ।

– जे–जे जान्नुपर्ने हो, सिक्नुपर्ने हो, त्यो भन्दा धेरै पढ्ने ।

– अरुको नक्कल बढि गर्ने ।

– स्तरभन्दा बढि वा कम पढ्ने । जस्तै अधिकृतको लागि तयारी गरिरहेको विद्यार्थी कोही सहसचिवले पढ्नुपर्ने कुरा पनि कण्ठ गरेर बसिरहेका हुन्छन् । केही विद्यार्थी नायब सुब्बा तहका लागि पनि नपुग्ने गरि अधिकृतको तयारी गर्छन ।

– प्रत्येक तहका लागि छुट्टै प्रकारको पढाइ, लेखाइ र तयारी शैली हुनुपर्छ । जाँचको नजिक आएपछि मात्र पढ्ने होईन, अलि अगाडी देखि नै पढ्नुपर्छ ।

याे पनि बाेनस् टिप्स 

व्यतिकाे व्यत्तिगत लाभ,लाभांश, प्रतिफल, पारिश्रमिक वा अन्य जुनसुकै आय बापत राज्यलाइ अनिवार्य बुझाउनु पर्ने अार्थिक दायित्व नै आयकर हाे। नेपालकाे संविधानकाे धारा २५ सम्पत्तिकाे हकमा व्यत्तिकाे सम्पत्ति र आय मा प्रगतिशील तवरले राज्यले कर लगाउन र उठाउन पाउने छ भनि आयकरकाे संवैधानिक अाधार निर्माण गरिएकाे छ।

नेपालमा आयकर एेन २०५८ ले स्पष्ट रूपमा आयकर छुट हुने आयका विषयमा व्यवस्था गरेकाे छ। आयकर एेन अनुरूप आयकर छुट हुने आयहरू निम्नानुसार छनः

  1. आयकर छुट हुने आयहरू
  2. संघीय इकाइहरू (संघ,प्रदेश र स्थानीय तह)ले प्रदान गर्ने सामाजिक सुरक्षा रकम,
  3. संघ, प्रदेश र स्थानीय तहले प्राप्त गर्ने जुनसुकै आय,
  4. नेपाल राष्ट्र बैंककाे उद्देश्य अनुसार अार्जन भएकाे रकम,
  5. सडक, पुल, विमानस्थल तथा पुर्वाधार निर्माण गरि प्राप्त हुने आय मा ४० प्रतिशत सम्म छुट
  6. पर्यटन उद्याेगमा शशर्त छुट हुन्छ,
  7. कृषि पेशा वा सहकारीकाे आय वा लाभांश
  8. बाैद्धिक सम्पत्तिकाे निर्यात वा हस्तान्तरणमा निश्चित छुट,
  9. राेजगारि सिर्जना, विशेष अार्थिक क्षेत्रका सञ्चालित उद्याेग र सूचना तथा सञ्चार प्रविधिमा अाधारित उद्याेगकाे आय,
  10. नेपाल सरकाले कुनै सन्धि,सम्झाैता गरि कर छुट दिने भनि गरेकाे कबुलियत अनरूपकाे आयमा,
  11. कर तिर्न नपर्ने शर्तमा नेपाल सरकारकाे सेवामा राखिएकाे गैर नेपाली नागरिककाे पारिश्रमिकमा,
  12. विदेशि सरकारी सेवा कार्यरत नेपालीकाे पारिश्रमिक रकममा,
  13. विदेशि सैनिक वा प्रहरी सेवामा सेवा गरि हाल विदेशि सरकारि काेष बाट निवृत्तिभरण प्राप्त हुने रकममा,
  14. उपहार, अपुतालि र छात्रवृत्तिमा,
  15. कर छुट दिइएका संस्थाले प्राप्त गर्ने उपहार तथा चन्दामा,

उत्पादनमूलक उद्याेगले निर्यात गरेकाे आयमा २५ प्रतिशत सम्म छुट हुन्छ।

राज्यकाे अावश्यकता, अान्तरिक उत्पादकाे संरक्षण, सार्वजनिक खर्चकाे व्यवस्थापन लगायतका हरेक दृष्टिकाेणकाे  संयुत्त मुल्यांकन बाट व्यत्तिकाे आयमा आयकर छुट छुट दिने गरिन्छ। नेपालमा आयकर छुट प्रगतिशील तरिकाले लागु भएकाे सन्दर्भमा यस्ले सामाजिक न्याय कायम र समानता प्राप्तिका दिशामा आयकर छुट अवलम्बन गर्नु पर्दछ।

लाेकसेवा तयारी गर्दा ध्यानदिनुपर्ने कुराहरू

पहिला विषयवस्तुको अवधारणा के हो भन्ने कुरा बुझ्नुपर्छ । जस्तै निजामति सेवाको विषयमा अध्ययन गर्दा शूरुमा निजामति सेवाको अवधारणा के हो र कसरी आयो भन्ने कुरा प्रष्ट हुनुपर्छ ।

 

अवधारणामा स्पष्ट भएपछि त्यो अवधारणाले सिद्धान्तको कसरी विकास ग¥यो भन्ने पढ्नुपर्छ ।

त्यसपछि त्यो विषयवस्तुको अवधारणा र सिद्धान्तलाई हाम्रो देशको कानुन र नीतिबाट कसरी समेटेका छौँ भनेर बुझ्नुपर्छ । पढ्नुपर्छ । जस्तै जलवायु परिवर्तनको विषयमा अध्ययन गर्न लागेको हो भने जलवायु परिवर्तन भनेको के हो ? यसको अवधारणा कसरी विकास भयो ? यसको सिद्धान्त के हो र यसलाई किन महत्व दिएका हौँ भन्नेकुरा बुझ्नुपर्छ ।

यसपछि जलवायु परिवर्तनका सन्दर्भमा हाम्रो देशले बनाएको कानुन के छ भनेर हेर्नुपर्छ । त्यो कानुनको व्याख्या गरेपछि कानुनको कार्यान्वयनका लागि कस्ता कार्यक्रमहरु ल्याएका छौँ भन्ने पनि लेखिनु पर्छ । र त्यो कार्यक्रमका व्यवहारिक पक्षहरु कस्ता छन् भन्ने पनि पढ्नुपर्छ । व्यवहारजन्य पक्ष लेखेपछि अवधारणा, सिद्धान्त, कानुन र कार्यक्रमवीच फरक कहाँ छ भन्ने कुरा पनि लेख्नुपर्छ । अन्तिममा निष्कष लेख्नुपर्छ । यसरी हरेक विषयलाई यो विधीबाट पढ्नुपर्छ ।

यस्तै तयारीको शिलशिलामा म अरु प्रतिस्पर्धीभन्दा नजान्नेमा पर्छु भन्ने मान्यता राखेर मेहनत गर्नुपर्छ ।

प्रत्येक दिन एउटा विषयमा पूर्ण अध्ययन गर्ने र अध्ययन गरेर कण्ठ गरेपछि परिक्षा नै हो भन्ने सम्झेर निश्चित समयभित्र लेख्ने अभ्यास पनि सँगै गर्नुपर्छ ।

यसरी हरेक शीर्षकमा ध्यान दिएर पढ्दै लेख्दै जाने अभ्यास ग¥यो भने लोकसेवा परिक्षा पास गर्न अप्ठेरो पर्दैन ।

आत्तिएर पढ्यो भने परिक्षामा झनै असफल हुन सक्छ । धेरै पढाइले झनै असफल हुनसक्छ । त्यसैले हरेक कुरालाई सावधानिक रुपमा अध्ययन ग¥यो भने तीन/चार महिनाको तयारीमा लोकसेवा परिक्षा उत्रिर्ण गर्न सक्छ ।

दोस्रो र तेस्रो पेपरको तयारी गर्ने विद्यार्थीले ५० देखि ६० वटा विषयवस्तुलाई यो विधीमा अध्ययन गर्नुपर्छ । यो शैलीबाट लोकसेवा तयारी गर्नेहरु पास भएका छन् ।

धेरै विद्यार्थीहरु गुगलमा खोजेर एउटै विषयमा ४/५ दिन लगाएर पढ्ने गर्छन । तर त्यस्तो गर्नुहुँदैन ।

थोरै पढ्नुस्, चाहिने कुरामात्र पढ्नुस् ।

धेरै पनि नपढ्नुस् । स्पष्ट रुपमा पढ्नुस्, खारेर पढ्नुस्, थोरै पढ्नुस् तर आवश्यक मात्र पढ्नुस् र सरकारी तथ्यांकहरुमा असाध्यै ध्यान दिएर पढ्नुस् ।

याे पनि समाचार

लोक सेवा आयोगका रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि

लोक सेवा आयोगले रोकिएका सम्पूर्ण परीक्षा दशैँअघि गरिसक्ने गरी आन्तरिक तयारी गरिरहेको छ । आयोगमा पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेको तथा कोरोना (कोभिड–१९) महामारीका कारण लोक सेवासम्बन्धी परीक्षाको आन्तरिक तयारी मात्रै भएको हो ।

कोरोना महामारीका कारण स्थगित चालू आर्थिक वर्षका सम्पूर्ण परीक्षा सञ्चालन र नियमित कार्यतालिकाअनुसार कसरी अगाडि बढ्ने भन्नेमा आयोगले आन्तरिक तयारी गरेको हो । आयोगमा पदाधिकारी नहुँदा र कोरोनाका कारण खरिदारदेखि सहसचिवसम्मको परीक्षा सञ्चालनमा बाधा पुगेको छ ।

लोक सेवा आयोगका सचिव महेन्द्रप्रसाद गुरागाईंले आयोगका पदाधिकारी सिफारिस भए पनि नियुक्ति भइनसकेकाले आन्तरिक रूपमा मात्रै काम गरिएको बताउनुभयो । उहाँले कोरानाका कारण विज्ञापन भएका कतिपय पदको परीक्षा हुन बाँकी रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोभिड–१९ का कारण रोकिएको परीक्षा अगाडि बढाउने योजना बनाएका छौँ । कोभिड सङ्क्रमण कम भएपछि उपयुक्त समयमा परीक्षा सञ्चालन सुरु गर्ने गरी तयारी गरेका छौँ ।”

चालू आर्थिक वर्षको दरबन्दी पदपूर्ति गर्न पदाधिकारीले नियुक्ति पाउनासाथ थप काम अगाडि बढ्ने उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “निषेधाज्ञा रोकिनु प-यो र विद्यार्थीलाई कम्तीमा पढ्नका लागि एक महिना समय राखेर सूचना निकाल्नु प-यो ।”

साउनमा परीक्षा सञ्चालनको सूचना निकाल्ने तयारी रहेको जानकारी दिँदै उहाँले कोभिड सङ्क्रमणको अवस्थामा निर्भर गर्ने बताउनुभयो । सचिव गुरागाईंले भन्नुभयो, “परीक्षा सञ्चालन गर्न सरकारले अनुमति दिने र जोखिम नहुने अवस्था भयो भने जहिलेदेखि हुन्छ त्यहिलेदेखि गर्ने, साउनपछि गर्न सकिन्छ भन्ने योजना बनाएका छौँ ।”

आयोगका प्रवक्ता तोयनारायण सुवेदीले अघिल्लो आर्थिक वर्षको खरिदार पदको प्रवेश परीक्षा भएर मूल परीक्षा रोकिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “चालू आर्थिक वर्षको सबै विज्ञापन आयोगको वार्षिक कार्यतालिकाअनुसार नियमित रूपमा भइरहेको छ तर कुनै पनि पदको परीक्षा भने सञ्चालन भएको छैन । ” गत आर्थिक वर्षमा कोरोनाका कारण रोकिएका परीक्षा यो वर्ष सम्पन्न गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

सुरुका दुई महिना केही विज्ञापनको विषयमा अदालतमा मुद्दा परेका कारण सहसचिवदेखि खरिदारसम्मको परीक्षा रोकिएको उहाँले बताउनुभयो । उहाँले चैत १० देखि आयोग पदाधिकारीविहीन बन्दा काम रोकिएको स्पष्ट गर्नुभयो ।

लोक सेवा आयोग २००८ साल असार १ गते स्थापना भएको हो । २००७ सालमा देशमा प्रजातन्त्र स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले आयोग स्थापना गरिएको हो । आयोगले त्यसैअनुरूप कार्यसम्पादन गर्दै आएको छ ।

पछिल्लो संविधानले आयोगलाई अझ बढी जिम्मेवारी दिएको छ । २०७२ सालमा जारी नेपालको संविधानको धारा २४२ मा लोक सेवा आयोगको व्यवस्था गरी जिम्मेवारी दिइएको हो । सोअन्तर्गत नै धारा २४३ मा निजामती सेवाको पदमा नियुक्तिका लागि उपयुक्त उम्मेदवार छनोट गर्न परीक्षा सञ्चालन गर्नु लोक सेवा आयोगको कर्तव्य हुने व्यवस्था छ । यसैगरी निजामती सेवाको पदबाहेकमा पनि आयोगको भूमिका विस्तार गरिएको छ । त्यसअनुसार नेपाली सेना, नेपाल प्रहरी, सशक्त प्रहरी बल नेपाल, अन्य सङ्घीय सरकारी सेवा र सङ्गठित संस्थाको पदमा पदपूर्तिका लागि लिइने लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

56 − = 46