४८ वर्ष अघि : आजकै दिन पूर्व प्रधानमन्त्री गिरिजाको योजनामा भएको थियो जहाज अपहरण

राष्टिय समाचार

“मेरा सबै हतियार गए । मैले भन्ठानेको थिएँ कि यो एउटा सानो लगानी हो । तर, न प्रतिफल छ न हतियार पाइन्छ । न त्यसको दाम पाइन्छ । मैले सबै गुमाएँ । त्यसपछि मसँग पैसा थिएन अनि हाइज्याकिङको विचार आयो । म त्यो पनि विस्तारमा भनूँ कि बन्द गरूँ ? अहिले छोडिदिऊँ । मान्छेहरू आइसके ।”

बीपी कोइरालाको आत्मवृत्तान्त यिनै वाक्यसँगै सकिएको छ ।

२०३० जेठ २८
बिहान : ८ः४४ बजे ।

विराटनगर विमानस्थलबाट शाही नेपाल वायुसेवा निगमको ‘नाइन एबीबी’ ट्विनअटर विमान काठमाडौं उड्ने तयारीमा थियो । विमानमा क्याप्टेन केआर मानन्धर, को–क्याप्टेन श्रीदेव वैद्य र परिचारक जीबी राईसहित चार महिला, एक बच्चा र नौ पुरूष यात्रु थिए । बिहान ७ः१७ बजे काठमाडांैबाट उडेको जहाज यात्रु र समान अनलोड गरी काठमाडौं फर्कने तयारीमा थियो । जहाजमा सवार १४ यात्रुमध्ये तीन जनाको व्यवहारबाट यात्रु र चालक दलका सदस्यसमेत छक्क छन् । ती तीन यात्रु जहाजमा घरि अघि र घरि पछि गर्दै थिए । कुन सिटमा बसौं भन्दै तिनीहरूले गरेको दौडधूप हेर्दा को–पाइलट श्रीदेव वैद्यलाई लाग्यो, “कस्ता पाखे रहेछन् यिनीहरू त । जुन सिटमा बसे पनि भैहाल्यो नि ।”

दुई जना ककपिटको ठीक पछाडि बसे । दुर्गा सुवेदी र नगेन्द्र ढुंगेल पहिले पनि जहाज चढेका थिए । तर, वसन्त भट्टराईको पहिलो अनुभव थियो । उनलाई ककपिट अगाडि हुन्छ कि पछाडि भन्नेसमेत थाहा थिएन । दुर्गाले पहेंलो कागजमा बेरेर राखिएको एक्स–रे प्लेट हातमा लिएका थिए । जेठको प्रचण्ड गर्मीमा ओभरकोट लगाएका थिए । उनले आफू क्षयरोगको बिरामी भएको र उपचारका लागि काठमाडौं जान लागेको बताए । अर्का यात्रु वसन्त दुर्गाको सहयोगीका रूपमा प्रस्तुत भए । पछाडिको सिटमा रहेका नगेन्द्रले चाहिँ व्यापारको सिलसिलामा जान लागेको बहाना बनाए । काठमाडौंका लागि उडेको जहाजका यी तीनै यात्रुको उद्देश्य भने काठमाडौं पुग्ने थिएन ।

निगमले भर्खरै नयाँ ट्विनअटर जहाज ल्याएको थियो । एयरपोर्टमा सुरक्षा जाँच हुँदैनथ्यो । जहाज चढ्नुअघि दुर्गाले बिरामीको राम्रै नाटक गरे । पक्राउबाट जोगिने उपायमात्र थियो त्यो । कांग्रेसको गतिविधिमा सक्रिय तीनै युवा एकसाथ काठमाडौं उडेकाले पक्राउ परे मिसनै असफल हुन्छ भनेर सचेत थिए । विमानस्थलमा भेटिएका प्रहरी हवल्दार बलराम कार्कीले उनीहरूलाई जिस्क्याउँदै भने, “ओहो नेताजीहरू ! अधिवेशन, मिटिङ के छ काठमाडौंमा र जान लाग्नुभयो तीनै जना एकै पटक ?”

“हैन छैन । दुर्गा दाइ बिरामी भएकाले उपचारका लागि जान लागेको,” वसन्तले भने । बिरामी भनेपछि कार्कीले अवरोध गरेनन् । बरू कोक खुवाएर बिदा गरे ।

राष्ट्र बैंक विराटनगर शाखाले कार्यालयमा जम्मा भएको भारतीय रूपैयाँ हरेक साता काठमाडौं पठाउँथ्यो । अनि नेपाली रूपैयाँ साटेर पुनः विराटनगर ल्याउने गरिन्थ्यो । साटिने रकम कहिलेकाहीँ साताको ८०–८५ लाखसम्म हुन्थ्यो । त्यो दिनचाहिँ ३० लाख भारु थियो । जमिन छाडेको केही मिनेटमै जहाज दुहवी हुँदै कोसी नदीमाथि पुग्यो ।

कुइनाले हल्का धकेल्दै वसन्तले दुर्गालाई इशारा गरे, “जाऊ ।”

दुर्गा भन्न थाले “गर्ने र ?”

वसन्त भन्छन्, “मलाई के भयो के । जुरूक्क उठें । दुर्गा दाइलाई कुइनाले धकलेर सीधै ककपिटभित्र छिरें ।”

त्यतिबेला चालक दलका सदस्यले भर्खर विराटनगरको टावरसँग अन्तिम सम्पर्क गरी अब तिमीलाई छाड्छौं भन्न भ्याएका थिए । विराटनगर टावरले ‘ओके ओभर’ भनेर स्विच अफ गरिसकेको थियोे । अर्थात् जहाजले अब काठमाडौं टावरलाई सम्पर्क बढाउनुपर्ने थियो ।

ककपिटमा छिर्नेबित्तिकै वसन्त भट्टराईले पाइलट केदारराज मानन्धरको कन्चटमा ‘३२ प्वाइन्टको रिभल्बर’ भिडाए । चालक दलका सदस्यले अचानक अकल्पनीय संकटको सामना गर्नुपर्‍यो । के गर्ने, कसो गर्ने भेउ नै भएन । एकैपटक जहाज स्वात्तै तल झ-यो । को–पाइलटले कन्ट्रोलमा नलिएको भए जहाज सीधै कोसीमा झथ्र्यो ।

वैद्यले लेखकलाई सुनाए, “झ्यापझुप गरेर दुई जना मानिस आएको देखें । एउटाले मलाई समायो किनभने म कन्ट्रोलमा थिएँ । कन्चटमा घोचेजस्तो लाग्यो । अर्काले पनि कन्चटमै रिभल्बर तेस्र्यायो र भन्यो, ‘बुझ्नुभयो हाइज्याक (अपहरण) भनेको यही हो ।’ हत्तपत्त के मजाक गरेको भनेर हात कन्चटतिर लगें । के ख्याल गरेको भनेर तानेको त उसको हातमा रिभल्बर पो रहेछ । उसले भन्यो, ‘हाइज्याक भनेको बुझ्नुभएन ?’ हाइज्याक गर्नुपर्ने कारण खुलाउँदै अपहरणकारीले भन्यो, ‘हामी कांग्रेसका कार्यकर्ता हौं । हाम्रो नाममा वारेन्ट छ, काठमाडौंमा । तिम्रो राजाले हामीलाई धेरै सतायो । काठमाडौं जानेबित्तिकै समाउँछ । त्यसैले यतै कतै ओरालिदेऊ ।’”

कमान्ड कन्ट्रोल सहचालक वैद्यलाई दिएर क्याप्टेन केआर मानन्धरले ‘चुरोट सल्काउन’ मात्र भ्याएका थिए । मज्जाले चुरोटको सर्को तान्न नपाउँदै जहाज अकल्पनीय संकटमा परिसकेको थियो । दक्षिण एसियामै पहिलो पटक आफ्नै कमान्डमा रहको जहाज अपहरणमा परेको सूचना पाउनासाथ क्याप्टेनको होसहवास त उड्ने नै भयो । सहकर्मीको कन्चटमा रिभल्बर टाँसिएको देख्दा क्याप्टेनलाई कस्तो भयो होला ? वसन्त पिन तानेको ग्रिनेड हातमा लिएर भन्दै थिए, “दायाँबायाँ नगर्नू । अलिकति मात्र चलाखी गर्न खोजे यी यो ग्रिनेड पड्किन्छ ।”

उसको अर्को हातमा रिभल्बर पनि थियो । चालक दलका सदस्यलाई के गर्ने के, होसै भएन । होसमा आउँदासम्म कम्युनिकेसन सिस्टम पनि अपहरणकारीको कब्जामा थियो । ४० वर्षपछि अपहरण दलका सदस्य वसन्तले लेखकलाई सुनाए, “शुरूमै जहाजको सम्पर्क बिच्छेद गराइदिनू भनेर हामीलाई सिकाइएको थियो । त्यसैले फटाफट सञ्चार सामग्री थुतिदिएँ, जहाजले कसैसँग सम्पर्क गर्न नपाओस् भनेर ।”

ककपिट कब्जामा लिएपछि वसन्तले साथीहरूतिर नजर लगाए । कमान्डर दुर्गालाई चालक दलका सदस्य जीबी राईले कम्मरमा च्याप्प समातेका थिए । दुर्गा उम्किन बल गरिरहेका थिए । ऊ तानिरहेको थियो ।

‘कम्मरमुनि पाइन्टमा (कट्टुभित्र) लुकाएको पेस्तोल निकाल्न हात घुसार्दै अगाडि बढेका’ दुर्गालाई समाएर चालक दलका सदस्य राईले अवरोध गरेको देख्नेबित्तिकै पछाडिको सिटबाट ढुंगेलले एक्सन लिए । ढुंगेलले लेखकलाई सुनाए, “दुर्गा दाइलाई उसले च्याप्प समातेको थियो । लडाउनै लागिसकेको थियो । अनिमात्र म एक्सनमा आएँ । एकहातले दुर्गा दाइलाई सपोर्ट दिएर अर्को हातले परिचारकलाई चड्काइदिएँ । अपहरण अवधिभर भएको त्यो नै अलिकति हिंसात्मक कदम थियो । ऊ लड्यो । सम्हालिएर दुर्गा दाइ ककपिटभित्रै पस्नुभयो ।”

थर्थर काँप्दै अगाडि आएर सुवेदीले को–पाइलटलाई पेस्तोल देखाएर नियन्त्रणमा लिए । को–पाइलटको कन्चटमै रिभल्बर तेस्र्याएर सुवेदीले आदेश दिए, “हामी जहाँ भन्छौं, जहाज त्यतै लैजानुस् । दायाँबायाँ गर्नुभयो भने सम्भावित दुर्घटनाको जिम्मेवार तपाईं स्वयम् हुनुपर्नेछ ।”

चालक दलका सदस्य र अपहरणकारीबीच घम्साघम्सी चलिरहँदा पनि कतिपय यात्रुलाई जहाज अपहरण भएको थाहै भएन । बरू दुर्घटना भयो भनेर उनीहरू भगवानको नाम जम्दै रून, कराउन थाले । घटना स्मरण गर्दै यात्रु जिजया अधिकारीले लेखकलाई सुनाइन्, “जहाज एकदमै हल्लियो । जमिनमै झरेजस्तो लाग्यो । मेरा आँखा झट्ट ककपिटतिर पुगे । ककपिट त ती केटाहरूले कब्जामा लिएका रहेछन् । यात्रुहरू होहल्ला गर्न थाले ।”

‘के गरेको तपाईंहरूले ? किन नचाहिँदो काम गर्नुहुन्छ ?’ भन्दै यात्रु नै प्रतिकारमा उत्रिने खतरा देखेपछि पछाडिको सिटबाट रिभल्बर देखाउँदै नगेन्द्रले भने, “हामीले प्लेन अपहरण गरेका छौं । प्रजातन्त्र पुनःस्थापनाका लागि हामीले बाध्य भएर यो काम गर्नु परेको हो । जहाजबाट राष्ट्र बैंकको पैसा जाँदै छ । हामी नेपाली कांग्रेसको सशस्त्र क्रान्तिलाई संगठित गर्दै छौं । तपाईंहरू शान्त बसिदिनुस् । हाम्रो मिसन पूरा हुनेबित्तिकै तपाईंहरूलाई सकुशल फर्काइदिन्छौं ।”

त्यसपछि हल्ला अलि कम भयो । दुई हात जोडेर यात्रुहरू भन्न थाले, “हामीलाई त केही हुँदैन नि ?”

आफूहरू अपहरणमा परेको जानकारी पाएपछि प्लेनमा कोलाहल मच्चियो । यात्रुले केटाकेटी देखाउँदै ‘हामी फर्किन पाउँछौं कि पाउँदैनौं ?’ भनेपछि अपहरणकारीलाई भावुक बनायो । त्यसबीच केही त फेन्ट नै भए ।

सानो बच्चा साथमा हुनेहरू झनै अत्तालिए । सन्तानको मुख हेरेर केही नगर्न आग्रह गर्न थाले । मृत्युको कल्पना गरिरहेका यात्रुसँग नगेन्द्रले भने, “तपार्इंहरू शान्त भएर बसिदिनुस्, तपार्इंहरूलाई केही हुँदैन । शान्त भएर बस्नुभएन, सहयोग गर्नुभएन भने हामी त ज्यान हत्केलामा राखेर आएकै छौं, तपाईंहरूको पनि त्यही अवस्था हुन्छ ।” एकदमै त्रासदिपूर्ण भयो वातावरण ।

जहाजभित्रको कोलाहल, पेस्तोल र ग्रिनेड पड्काइदिने अपहरणकारीको धम्कीबाट यात्रु र चालक दलका सदस्यको होसहवास उड्नु अस्वाभाविक थिएन । तर, स्वयम् अपहरणकारी पनि नर्भस भइसकेका थिए । टिम कमान्डर दुर्गा सुवेदीले विराटनगरस्थित आफ्नै निवासमा लेखकलाई सुनाए, “अर्कै चेतनाले काम गरिरहेको थियो । प्यासेन्जरको ओठमुख सुकेको थियो । मानांै ती जिउँदा लाश हुन् । म कस्तो थिएँ, थाहा छैन । खुट्टातिर पूरै शून्यजस्तो । ममात्र माथिमाथि उठेजस्तोे । शरीर एकदमै हल्का । म रिभल्बर लिएर घुमिरहेको छु । नगेन्द्र त्यहीँ छन् । वसन्त त झन् पिन नभएको ग्रिनेड लिएर जहाजभित्रै छन् । लिभर छुट्यो कि त प्लेन गयो । स्थिति कन्ट्रोलमा आएपछि मात्र वसन्तले ग्रिनेडमा पिन हाले ।”

आकाशमा दुई–तीन चक्कर लगाएर चालक दलका सदस्य अपहरणकारीलाई झुक्याई जहाज काठमाडौंमै लैजाने रणनीतिमा थिए । अपहरणकारी त मर्न तयार थिए नै, उनीहरू जहाज फारबेसगन्जमै लैजान चालक दलका सदस्यलाई दबाब दिइरहेका थिए । जसरी पनि काठमाडौं लैजान खोज्ने चालक दलका सदस्य र अपहरणकारीबीच लामो समय घम्साघम्सी चल्यो ।

सुवेदीः जहाज कहाँ छ ?
पाइलटः राजविराज ।
सुवेदीः घुमाउनुस् ।

कुराकानी चलिरहँदा जहाजको कन्ट्रोल कमान्ड को–पाइलट श्रीदेवले क्याप्टेन केआर मानन्धरलाई दिइहाले । लेबल आउट गरे, त्योभन्दा माथि नजाओस् भनेर । पाइलट भन्दै थिए, “तपाईंहरू ओर्लिने भए नजिकै भारतको वीरपुर विमानस्थल छ । त्यहीँ ओरालिदिन्छौं । धेरै समय यसरी आकाशमा घुमिरहँदा इन्धन सकियो भने दुर्घटना हुन सक्छ ।”

अपहरणकारीहरू भन्न थाले, “हुँदैन । हाम्रा साथीहरू फारबेसगन्जमा लिन आएका हुन्छन् । त्यहीँ लैजानुपर्छ ।”

“धेरै टाढा लैजाँदा इन्धन पुग्दैन होला,” चालक दलका सदस्यले पटकपटक यही कुरामा जोड दिए । आफूलाई झुक्याइरहेको ठानेर वसन्तले आक्रोशित शैलीमा भने, “पुग्छ, पुग्दैन तपाईं घुमाउनुस् ।”

झुक्याएर जहाज काठमाडौं फर्काउने प्रयास असफल भएपछि को–पाइलट वैद्यले सोधे, “त्यसो हो भने भन्नुस्, अब कहाँ जाने ?”

सुवेदीले हडबडाउँदै भनिदिए, “तिब्बत ।”

अब को–पाइलट भन्न थाले, “फ्युल पुग्दैन ।”

वसन्तले त्यतिबेलाको दृश्य लेखकलाई सुनाए——

त्यसो भए इन्डिया लग भन्नुहुन्छ, दुर्गा दाइ । फेरि पाइलटले सोधे, “इन्डिया कहाँ ?” हत्तपत्त मैले भनें, “फारबेसगन्ज ।”

यस्तै घम्साघम्सी चल्दै थियो, पाइलटको गर्धनमा जोडसँग रिभल्बरले घोचेर रिसाउँदै म कराएँ, “तँलाई मारिदिन्छु । भनेको ठाउँमा किन नजाने हँ ?”

त्यसपछि भने पाइलट हामीले भनेको ठाउँमा जहाज लैजान तयार भए र भने, “तर सिटमा बसेर सहयोग गर्नुस् ।”

अनि देब्रे हातले ग्रिनेड हल्लाउँदै मैले यात्रुलाई भनें, “तपाईंहरूलाई केही पनि गर्दैनाैं । चुपचाप बसेर सहयोग गर्नुस् । बच्चा बोकेकी एक महिला हामीलाई केही नगर्नुस्, नाबालक काखमा छ भन्दै ढोग्दै बेहोसजस्तो हुन्थिन् ।”

नवविवाहित मारवाडी जोडीचाहिँ गहना लुकाउन व्यस्त थिए ।
को–पाइलट वैद्यले लेखकलाई सुनाए, “रातो साडीचोलोसँगै प्रशस्त गहनाद्वारा सजिएको मारवाडीको जोडी हत्त न पत्त गरगहनाहरू साडीले बाँधबुँध गरेर लुकाउन प्रयास गरिरहेको थियो ।”

यसबीच को–पाइलट वैद्यले जहाज नियन्त्रण प्रणाली चलाएझैं गरी रेडियो फ्रिक्वेन्सी परिवर्तन गरे । जहाजभित्रको गतिविधि र वार्तालाप विराटनगर टावरले सुन्ने गरी साउन्ड बढाएर ट्रान्समिट गरिदिए । पहिल्यै बाइबाई गरेर स्विच बन्द गरिसकेकाले विराटनगर टावरले जहाजको सूचना लिन सकेन ।

“तपाईंहरूले भनेको ठाउँमा कसरी जाने ?” पाइलटले सोधे । दुर्गाले आफैं हातले कोरेको नक्सासहितको एउटा कागज थमाइदिए ।

को–पाइलट वैद्यले बबरमहलस्थित आफ्नै निवासमा लेखकलाई सुनाए, “नक्सा कोरेको रहेछ । विराटनगर, कोसी नदी, ब्यारेज अनि फारबेसगन्ज । यति मिनेट यता जाने । यति मिनेट यता भनेर लेखिएको थियो त्यसमा ।”

जहाजले कोसी हुँदै ब्यारेज क्रस गर्‍यो । हतारहतार ककपिटमा आएर दुर्गाले भने, “पूर्वतिर लैजानुस् ।”

४ हजार फिट उचाइमा जहाज बादलभित्र पस्ने र निस्किने क्रम चलिरहेको थियोे । निर्णय गर्दागर्दै बादल छल्न प्लेन तलमाथि गर्नुपर्दा वैद्य डराए । अपहरणकारीले आफ्नो कन्चटमै जोडेर राखेको रिभल्बर हल्लिएर पड्किने पो हो कि ? जहाज घुमाइरहँदा इन्धन सकिने पो हो कि ? त्यस्तो भयो भने यात्रु र जहाजको सुरक्षा के होला ? यस्तै प्रश्न खेलिरहेका थिए मनमा । यिनै कारण अपहरणकारीले भनेकै ठाउँमा जहाज लैजान बाध्य भए चालक दलका सदस्य ।

को–पाइलट वैद्यले लेखकसँग भने, “उनीहरू घरि यता, घरि उता जाऊ भन्दै थिए । झ्यालबाट चियाएर यताउता हेर्दै थिए । हुँदाहुँदा हामी २ हजार फिट तलसम्म पनि गयौं । जति तल गयो, उति टाढा देखिँदैन । एकदमै दबाब दिन थालेपछि मैले भन्नुपरेको थियो— ठीक छ हामीमाथि विश्वास छैन भने म सिट छोडिदिन्छु, यहीँ आएर गाइड गर ।”

पाइलटले फारबेसगन्ज लैजान आनाकानी गरेको ठानेर उनको कन्चटमा रिभल्बर तेस्र्याइरहेका वसन्त आक्रोशित हुँदै भन्न थाले, “तपाईं भनेको किन मान्नुहुन्न हँ ?” रिभल्बर पाइलटको कन्चटमा टाँसेर उनले फेरि भने, “अब म तपाईंलाई मारिदिन्छु ।”

चालक दलका सदस्यको होसहवास उड्यो । ओठतालु सुकिहाल्यो । पाइलटले सानो स्वरमा भने, “ल भन्नुस् न, मैले के गर्नुपर्‍यो ?”

भट्टराईः प्लेन तल लैजानुस् ।
पाइलटः कति तल ?
भट्टराईः मिनिमम कति जान्छ, लैजानुस् ।
पाइलटः कति स्पिडमा उडाऊँ ?
भट्टराईः मिनिमम ।

जहाजको न्यूनतम र अधिकतम गति कति हुन्छ ? कति तल र माथि उड्न सक्छ भन्ने सामान्यज्ञान पनि अपहरणकारीलाई थिएन ।

लामो घम्साघम्सीपछि को–पाइलट वैद्यले अपहरणकारीसँग भने, “हेर, मलाई नक्सा हेर्नुपर्छ, ठाउँ देऊ ।”

त्यो अपहरणकारीलाई छक्याउने निहुँ थियो उनको । वैद्यले नक्सा फैलाएर राखे । अपहरणकारीको नक्सा उनकै साथमा थियो । दुर्गा भन्न थाले, “तपाईं चक्कर लगाएर माथि चढ्नुस् ।”

जहाजले उचाइ लिँदै गर्दा कोसीको ढुंगा ओसार्ने रेलवे लाइन देखियो । दुर्गाले क्याप्टेनलाई भने, “यहाँ तल ढुंगा ओसार्ने रेलवे लाइन छ क्याप्टेन । त्यसको माथिमाथि जानुस् । सीधै फारबेसगन्ज पुगिन्छ ।”

रेलवे लाइन माथिमाथि एकदमै लो–हाइटबाट पाइलटले जहाज उडाए । जहाज क्षणभरमै फारबेसगन्जको सुल्तान पोखरीमाथि पुग्यो । त्यही ठूलो पोखरीकै डिलमा कांग्रेसको हतियार भण्डारण र तालिम केन्द्र थियो । पाइलटले भने, “यो त पोखरी हो नि । अब कसरी त्यहाँ जहाज उतार्ने ?”

“पोखरीको दक्षिणतिर हेर्नुस्, ठूलो सिमलको रुख छ । त्यसैको छेउमा ठूलो चौर छ,” हातले जहाज लैजाने ठाउँ देखाउँदै दुर्गाले भने । दुर्गामा खुशीको सीमा थिएन । क्षणभरमै जहाज फारबेसगन्जको चौरमाथि पुग्यो । दुर्गा भन्न थाले, “हो यहीँ हो ।”

को–पाइलट वैद्यले त्यस दिनको घटना सम्झँदै लेखकसँग भने, “दुर्गाले परैबाट ऊ त्यो ठाउँ हो भनेर देखाइदिए । अब त जानैपर्‍यो । ठाउँ त देखाइदिनुभयो । त्यहाँ खाल्डाखुल्डी होलान् । घाँस काटेको छैन होला भन्दा उनले भने— हामीले सब बन्दोवस्त गरेका छौं । तपाईंले धन्दा मान्नुपर्दैन ।”

दोस्रो विश्वयुद्धताका फाइटर विमान उतार्न बनाइएको चौरमा लामो समयदेखि जहाज अवतरण गरिएको थिएन । जहाज पुग्दा त्यहाँ गाईभैंसी चरिरहेका थिए । चौर सुरक्षाका लागि भारत सरकारले एकजना चौकीदार राखेको थियो । चक्कर लगाएर विमान अवतरण गर्‍यो । चालक दलका सदस्य त्यतिबेला चकित भए, जतिबेला उनीहरूले चौरमा चुना राखेर सेन्टर लाइनसमेत बनाएको देखे ।

जहाजको पैसा सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मेवारीसहित विनोद अर्यालको कमान्डमा सुशील कोइराला, मनोहरि बराल, चालक वीरू लामा चौरमा तैनाथ थिए । अपहरणमा संलग्न नगेन्द्र ढुंगेलले लेखकलाई सुनाए, “सुशील दाइ आफ्नो सेतो सर्टलाई झन्डा बनाएर हल्लाइरहनुभएको थियो ।”

को–पाइलट वैद्यले लेखकसँग भनेका छन्, “गाईको बथानमाथि चक्कर लगाएर हामीले ल्यान्ड गर्‍यौं । गाईकै बथानबीचबाट एउटा जिप निस्कियो र सीधै प्लेनतिर आयो । प्लेन ल्यान्ड गरेर अघि बढ्दै थियो । जिपबाट जोडले ‘रोक्नुस् रोक्नुस्’ भनेर कराएको सुनियो । ब्रेक जामै गरेर रोक्नुपर्‍यो ।”

ओर्लिनासाथ वैद्यको नजर जिपमै प-यो, जहाँ ५–६ जना मान्छे थिए । ती सबैसँग बन्दुक थियो । अनुहार कपडाले छोपेका, आँखामात्र देखाई हातहातमा हतियार बोकेका मानिसले जहाज घेरिहाले । एक जना हात नभएका थिए । अरु हुलिया बताउन नसकिने गरी नकाबमा थिए । अपहरणकारीको सहयोगार्थ परिचालित जिपको नम्बर ‘डब्ल्यूजीएक्स ३७२५’ वैद्यले नङको सहायताले आफ्नो झोलामा कोरे ।

उड्नुअघि वैद्यले फेरि अपहरणकारीतर्फ नजर लगाए । उनले हेरेको थाहा पाएर जिपमा रहेका एकजनाले टाउको लुकाए । वैद्यले लेखकसँग भनेका छन्, “शायद तिनी कोइराला परिवारका कुनै सदस्य हुनुपर्छ ।”

वैद्यको अनुमान एकदम ठीक थियो । टाउको लुकाउने मानिस कोइराला परिवारका सदस्य नै थिए— सुशील । दोस्रो संविधानसभा (२०७०) मा बाँके र चितवनबाट विजयी भएर प्रधानमन्त्रीमा निर्वाचित हुनु केही दिनअघि मात्र लेखकसँग कोइरालाले ‘टाउको लुकाउने मानिस’ आफैं भएको बताएका थिए ।

फारबेसगन्ज चौरमा दाहिने हात नभएका र देब्रे हातमा रिभल्बर लिएका मानिस देखेपछि यात्रु जिजयालाई लागेछ— हामीलाई केही हुँदैन, त्यो मानिसले अब अपहरणकारीलाई त समाइहाल्छ नि ।

जिजयाले हाँसो रोक्नै सकिनन् र भनिन्, “झन् ऊ त उनीहरूकै मानिस पो रहेछ ! ल्यान्ड गर्नासाथ उनीहरूले जहाजलाई चारैतिरबाट घेरे । पैसा राखिएका तीन ओटा बाकस निकाले ।”

पैसा कब्जामा लिएपछि ‘विनोद अर्याल’ले देव्रे हातले रिभल्बर देखाउँदै भने, “दुई मिनेटभित्र जहाज उडाऊ नत्र म पड्काइदिन्छु ।”

त्यो बेलासम्म को–पाइलट वैद्यलाई दुई जनामात्र अपहरणकारी छन् भन्ने परेको थियो । त्यतिबेला मात्र उनलाई थाहा भयो, अपहरणकारी त तीन जना पो रहेछन् !

जहाज अवतरण गर्ना साथ अपहरणकारीले नोटले भरिएका तीन वाकस फटाफट निकाले । सय सय रुपैयाका नोटले भरिएका हरेक वाकसमा दश लाख रुपैया थियो । जम्मा तीस लाख भा.रु. । जहाज र यात्रुलाई सकुशल फर्काइ दिए । नोटले भरिएका वाकस मोटरमा राखेर विजुलीको गतिमा एक सुरले हुईकिए ।

वेलुका उनीहरु बीपी वस्ने गरेको घरका मालिक एलवी शर्माको निवास दार्जिलिङ पुगे ।

शर्माका कामदारहरु नोटले भरिएका वाकस बीपीको कोठामा ओसार्दै थिए । त्यति वेला गिरिजाप्रसाद चाही घर मालिकसंग भन्दै थिए ‘सान्दाजुले यति धेरै लेख्नु भएको छ की कागजले भरिएका बाकस मात्र छन् ।’ गिरिजाप्रसादले भनेका छन् ‘सबै सामान बीपीको खाट मुनी राखियो । मैले भने सान्दाईले धेरै लेख्नु भएको छ । उहाँ आफै आए पछि हेर्नुहुन्छ ।’ कोठा ताला लगाएको पनि छैन । खाट मुनी नोटले भरिएका वाकस र झोला थुपारिएका छन् । मिसनको सफलताले क्रान्तिकारीहरुको मन त रोमाञ्चक छ नै । त्यतिकै कौतुहलता र त्रास पनि । पैसा थन्क्याए पछि चक्रले गिरिजाप्रसादसंग भने ‘गिरिजावावु एक दमै टेन्सनभयो । धेरै वेर यहाँ वस्यो भने सबलाई थाहा भैहाल्छ । नानाथरी कुरा सोधेर हैरान पार्छन । वरु जाँउ वाहिर । वियर सियर खाउला । अनी फेर्केर आउला ।’

गिरिजाप्रसाद : हुन्छ चक्रजी जाउ । तर दार्जिलिङमा कहाँ खाने । मलाई त थाहा छैन ।

शर्माजीकै एक जना छोरालाई लिएर दुवै चौरस्ता तिर लागे । वियर र स्न्याक्स खाएर फर्किदै गर्दा एउटा मानिस ठूलो रेडियो वजाएर हिडि रहेको थियो । अल इण्डिया रेडियोमा जहाज अपहरणको सनशनीपूर्ण समाचार आइरहेको छ । व्यापक हाइलाईट गरेर । वियर खाएका कारण दिनभरीको थकान र तनाव हल्का भएको थियो । तर समाचार सुने पछि फेरी फारवेशगञ्जवाट दार्जिलिङ पुग्दाका घटना क्रम विजुलीको गतिमा दिमागमा घुम्न थाले ।

गिरिजाप्रसादले चक्रलाई कोट्याउदै भने ‘चक्रजी समाचार सन्नुस् त ।’त्यस क्षणको स्मरण गर्दै पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले लेखकसंग भनेका छन् ‘केही समय पछि हामी शर्माजी फेरी कहाँ पुग्यौं । उहाँ भन्न थाल्नुभयो ‘गिरिजावावु प्लेन अपहरण भएछ नी । यति पैसा (तीस लाख भारु) लगेछन् भन्ने समाचार आइसक्यो । मैले भने -यो सब कम्युनिष्टको काम हो । वदमास, यीनीहरु यस्तै त हुन्छन् नी ।’

‘हामीले याे सामाग्री अन्वेशण डटकमबाट साभार गरेका हाैँ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *