विश्वकप छनोटको लागि नेपालले आज अष्ट्रेलियाको सामना गर्दै

खेलकुद

काठमाडाैं । विश्वकप तथा एसियन कप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियाको सामना गर्दैछ । खेल कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा राति ९ः४५ बजे सुरु हुनेछ ।

नेपाल आजको खेलमा एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई रोक्ने प्रयासमा छ भने अष्ट्रेलिया सहज जितको खोजीमा छ । नेपाल विश्वकप छनोटमा अघि बढ्ने सम्भावना सकिएपनि एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने प्रयासमा छ ।

यस्तै, पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया भने नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्न चाहन्छ । खेलको पूर्वसन्ध्यामा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको लक्ष्य नतिजा भन्दा पनि राम्रो प्रदर्शन गर्ने रहेको बताएका छन् ।

जारी विश्वकप छनोट अन्तर्गत नै नेपालले सन् २०१९ मा अष्ट्रेलियासँग खेलेको थियो । जसमा नेपाल ५-० ले पराजित भएको थियो । अष्ट्रेलियाले समूह चरणको ६ खेलमा शत प्रतिशत जितको नतिजासाथ १८ अंक जोडेको छ । यता नेपाल ६ अंकसहित चौथो स्थानमा रहेको छ ।

याे पनि समाचार

युरोकप : अपराजित इटालीलाई युवा टर्कीको चुनौती

युरोकपको सुरुवाती खेल रोममा हुँदैछ र २७ खेलसम्म अपराजित रहेको घरेलु टोली इटलीले टर्कीको सामना गर्दैछ । प्रशिक्षक सेनोल गुनेसको नेतृत्वमा रहेको टर्किस् टोली यसपटक युवा खेलाडीहरूले भरिएको छ ।

प्रशिक्षक गुनेसले आफ्नो टोली अंक खोस्ने आशा बोकेर रोम नआएको स्पष्ट पारिसकेका छन्, उनले इटलीविरुद्ध स्टाइलिस फुटबल खेल्ने बताए ।

टर्की पछिल्ला ५ खेलमा अपराजित छ । उसले तीन खेल जितेको छ भने २ खेल बराबरी गरेको छ । त्यसकारण पनि उसले इटलीलाई कडा टक्कर दिनसक्छ ।

यता, इटलीले पछिल्लो ५ खेलमध्ये पाँचवटै खेल जितेको छ । त्यस्तै, हेड टु हेडमा पनि इटली नै अघि छ । टर्कीविरुद्ध उसले अहिलेसम्म खेलेका सबै ३ खेल जितेको छ ।

इटलीले २०१८ यता कुनै पनि खेल हारेको छैन र २०२१ मा एक गोल पनि खाएको छैन । पछिल्लो समय चेक गणतन्त्रविरुद्ध इटलीले निकै उत्कृष्ट खेल देखाएको थियो, युरोअघिको यस वार्मअप खेलमा उसले ४–० को जित निकाल्यो । यस खेलमा इटलीका तीनवटै स्ट्राइकर लोरेन्जो इन्जाघी, सिरो बेरार्डी र सिरो इम्मोबिल सबै फर्ममा देखिएका थिए ।

सन् १९६८ को युरोकप विजेता इटली सन् २००० र २०१२ मा पनि प्रतियोगिताको फाइनलमा पुगेको थियो । टर्कीले आजको खेलसँगै आफ्नो चौथो युरो यात्रा थालनी गर्नेछ । यसअघिका तीन संस्करणमध्ये उसले सन् २००८ मा सेमिफाइनल यात्रा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *