ओलीका लागि ज्यान दिन्छु भन्नेहरूलाई नै ओली बा’ले बनाएनन् मन्त्री, यस्ताे छ भित्री कारण

राष्टिय समाचार

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जेठमा संसद विघटन गरेपछि दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरे, जसमा एमाले र पूर्वमाओवादीका ७ मन्त्री थपिए । ती ७ जना मन्त्रीमा अनुमान गरिएभन्दा फरक अनुहार पनि भित्रिएका छन् ।

र, प्रधानमन्त्री ओलीका लागि जस्तोसुकै परिस्थितिमा साथ दिने खगराज अधिकारीदेखि नारदमुनि रानासम्मलाई समेटे । तर, विगतदेखि मन्त्रीका लागि आश गरेका वा ओलीलाई निरन्तर साथ दिएका केही नेता भने छुटेका छन् । उनीहरूले ओलीको सत्ता जोगाउन सांसद अपरहण गर्नेसम्मका प्रयास गरेको आरोप खेपेका थिए ।

निरन्तर सामाजिक सञ्जालदेखि साइबर सेनासम्म बनाएको दाबी गर्नेहरूलाई पनि मन्त्री बनाएका छैनन् । त्यसैमध्येमा पर्छन् महेश बस्नेत । गृह वा सञ्चार मन्त्रालय ताकेर बसेका बस्नेतले ओलीका सत्ता जोगाउन तत्कालीन समाजवादी पार्टीका सांसदहरूलाई जनकपुरबाट अपहरणशैलीमा काठमाडौं ल्याउनेदेखि अहिले जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोलाई बहुमत पुर्‍याइदिन खुबै मिहिनेत गरेका थिए । तर, तिनै बस्नेत ओलीको मन्त्रिपरिषद्‍मा परेका छैनन् ।

त्यसैगरी, सुदूरपश्चिमका कर्णबहादुर थापा पनि मन्त्री हुन पाएनन् । असन्तुष्ट माधव नेपाल समूहका नेता भीम रावलसँग सुदूरपश्चिम टक्कर दिएर बसेका थापा ओलीको हरेक कदमको रक्षामा उभिन्छन् । अहिले उनी पनि मन्त्रीको दाबी बालुवाटारसँग गरिरहेका थिए । बालुवाटारको रुचीमा थापा नपरेर सुदूरपश्चिमबाट नारदमुनि राना र आशाकुमारी विक परेका छन् ।

यता, पटक-पटक मन्त्रीको आशा गरेर पनि मन्त्री हुन नपाएका नेता हुन विशाल भट्टराई । निरन्तर ओलीको प्रतिरक्षामा उभिने भट्टराईलाई ओलीले प्रमुख सचेतक त बनाए तर मन्त्री बन्ने भट्टराईको चाहना ओलीले पूरा गरिदिएका छैनन् ।

भट्टराईसँगै मन्त्रीको आश गरेर प्रधानमन्त्री ओलीको जस्तासुकै कदममा प्रतिरक्षा गर्ने राजेन्द्र गौतम पनि मन्त्रिपरिषद्‍मा अटाएनन् । गौतम एमालेभित्र ईश्वर पोखरेलनिकट मानिन्छ । पोखरेल मन्त्रिपरिषद्‍बाट हटेपछि गौतमले दाबी गरिरहेका थिए ।

त्यसैगरी ओलीसँग मन्त्रीका लागि आश गर्ने नेतामै पर्छन् राजेन्द्र राई । धनुकटाका निवर्तमान सांसद राई पनि निरन्तर ओलीको प्रतिरक्षामा छन् । छविलाल विश्वकर्मा एमालेको स्थायी कमिटीका एकमात्र यस्तो पात्र हुन् जसले ओलीबाट यो तीन वर्षमा कुनै पनि अवसर पाएका छैनन् । ती विश्वकर्मा पनि अहिले मन्त्रीको आश गर्ने सूचीमै पर्दथे ।

त्यसो त, शेरबहादुर तामाङको इन्ट्रीपछि धेरैको अनुमान थियो गोकुल बाँस्कोटाको पनि इन्ट्री हुन्छ भनेर । सामाजिक सञ्जालमा ओलीको हरेक वचनको प्रतिरक्षामा उत्रिने बाँस्कोटा पनि इन्ट्रीका लागि प्रयासरत देखिन्थे ।
अर्का नेता विजय सुब्बाले ओलीको हरेक कदमको बचावटमा समय खर्चेर पनि मन्त्री हुन पाएका छैनन् । बरु सांसद हुदाँहुदै साझा प्रकाशनको अध्यक्ष हुन पुगेका सुब्बा अहिले मन्त्री हुने आशा राखेका नेताभित्रै पर्दथे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *