को हुन् गृहमन्त्री खगराज अधिकारी ? यस्ताे छ राजनीतिक नालिबेली

राष्टिय समाचार

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। अघिल्लो साता मन्त्रिपरिषद पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले बिहीबार नेकपा एमालेमा आफ्नो समूहका मानिसहरूलाई मन्त्रिमण्डलमा समावेश गर्न लागेका हुन्।

प्रधानमन्त्रीले बिहीबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा कास्कीका एमाले नेता खगराज अधिकारी गृहमन्त्री हुने भएका छन्।

सांसद नरहेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सर्वोच्चको आदेशपछि पदमुक्त भएकाले जेठ दोस्रो सातादेखि गृह मन्त्रालय प्रधानमन्त्री ओलीले आफू मातहतमा राखेका थिए।

त्यसपछि अब को गृहमन्त्री बन्छ भन्ने आमचासो थियो।

आज गृहमन्त्रीको सपथ लिन लागेका अधिकारी यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्री थिए।

२०६४ सालको संविधान सभा चुनावमा पराजित भएका अधिकारीले २०७० मा टिकट नै पाएका थिएनन्। लामो समय आफ्नो समूहमा रहेका अधिकारीलाई ओलीले नै कोइराला मन्त्रिपरिषदमा पठाएका हुन्।

२०७४ मा कास्कीबाट चुनाव जितेलगत्तै उनी एमाले प्रमुख सचेतक बनेका थिए। नेकपा एकता भएपछि उनी हटेर देव गुरूङ प्रमुख सचेतक भएका हुन्।

पूर्वकृषि मन्त्री पद्मा अर्यालका नजरमा खगराज अधिकारी लामो समयदेखि केपी ओलीकै विचारमा आवद्ध भएर सहयोग गर्दै आएका व्यक्ति हुन्र राजनीतिमा निष्ठापुर्वक लागेका व्यक्ति हुन्।

‘उहाँ पार्टीको एकखालको बफादार सिपाही हो,’ उनले भनिन्,’अहिले उहाँले जुन जिम्मेवारी पाउनुभएको छ, त्यो स्वभाविक कुरा हो। उहाँको त्याग, उहाँको क्रियाशिलता र उहाँको क्षमताले उहाँ त्यो ठाउँमा पुग्नुभएको छ। प्रधानमन्त्रीले उपयुक्त विश्लेषणका साथ उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिनुभएको छ।’

प्रधानमन्त्री ओलीसँग निकट भएकामध्ये गृह मन्त्रीका लागस अधिकारी उपयुक्त भएको प्रधानमन्त्रीनिकट स्रोतको दाबी छ।

‘गृहमन्त्रीका लागि धेरैको दाबी थियो। आफ्नो मार्केटिङ आफैं गरिरहेका थुप्रै मान्छे थिए। तिनको नाम र फोटो धेरैले छापेका पनि थिए,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो,’पञ्चायतकालमा प्रधानमन्त्री ओलीसँगै अधिकारी पनि जेल पर्नुभएको थियो। यो तथ्य जनताले थाहा पाउनुपर्छ। अधिकारीलाई पनि निकै ठूलो दर्ज्यानी दिनुभयो। गणेश तिमल्सिनालाई पनि सम्माननीय बनाइदिनुभयो।’

याे पनि समाचार 

बादललाई पुरस्कार- श्रीमती सञ्चार मन्त्री नियुक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार फेरि मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। अघिल्लो साता मन्त्रिपरिषद पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले नेकपा एमालेमा आफ्नो समूहका सदस्यहरूलाई बिहीबार मन्त्रिमण्डलमा समावेश गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीले विस्तार गर्न लागेको मन्त्रिमण्डलमा नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएकी छन्। उनी पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ की श्रीमती हुन्। सर्वोच्च अदालतले जेठ ६ गते दिएको आदेशअनुसार सांसद नरहेका बादलको पद खारेज भएको थियो।

गत पुसदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेर लागेका* बादललाई ओलीले यसअघि राष्ट्रिय सभा सदस्य पनि बनाउन खोजेका थिए। तर बागमती प्रदेश सभामा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा बादल पराजित भएपछि उनको सांसद र मन्त्री पद गएको थियो।

माओवादी छाडेर आफूतिर आएका बादललाई पुरस्कारस्वरूप प्रधानमन्त्री ओलीले बादलकी श्रीमती नैनकलालाई मन्त्री बनाएका हुन्।

सञ्चारमन्त्री बनेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन्। २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछिका १५ वर्षसम्म उनी कहिल्यै सांसद भएकी थिइनन्।

माओवादी नेताका सबै जीवनसाथी भूमिगत हुने नीतिअनुसार थापा २०५२ सालमा भूमिगत भएको माओवादी केन्द्रका एक नेताले बताए।

‘नैनकलाजी भूमिगत हुनुभएकै हो। तर उहाँ पार्टीको सक्रिय पदमा रहनुभएन। नेताहरूमा सांस्कृतिक विचलन नआओस् भनेर नेताका श्रीमतीहरू पनि भूमिगत हुनैपर्ने पार्टीको नीति थियो,’ ती नेताले भने, ‘नैनकलाजीको जनयुद्धमा योगदान थिएन भन्दा त अन्याय हुन्छ। तर उहाँभन्दा धेरै क्षमतावान् व्यक्तिहरू मन्त्री बन्न योग्य थिए। रघुवीरका श्रीमान्-श्रीमती आलोपालो मन्त्री भएजस्तै होला बादलजीको पनि।’

माओवादी युद्धमा हुँदा उनी महिला संघकी अध्यक्ष थिइन्। उनी पार्टीको कार्यकारिणी कमिटीमा भने एकपटक पनि पुगिनन्। उनी केन्द्रीय सल्लाहकार समितिको सदस्य भने भएकी थिइन्।

केही समय शिक्षण पेशामा रहेकी थापा २०६४ पछि महिला आयोगको प्रमुख बनेकी थिइन्।

मन्त्रीबाट पदमुक्त भए पनि बादलले पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका थिएनन्।

याे पनि पढ्नुस् 

गण्डकी प्रदेशसभामा मन्त्री मनाङे अनुपस्थित

पोखरा — गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशसभामा विश्वासको मत मागेका छन् । प्रदेशसभामा गुरुङले आफ्नो नेतृत्वको सरकारलाई विश्वास रहेको वा नरहेकोबारे मतविभाजन हुने भएको छ ।

संविधानको धारा १ सय ६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री नियुक्त भएका पृथ्वीसुब्बा गुरुङले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिन लागेका हुन् । अहिले मुख्यमन्त्री गुरुङले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाको विश्वास पाउँ भन्दै वक्तव्यसहित प्रस्ताव पेस गरिरहेका छन ।

 

६० सदस्यीय गण्डकी प्रदेशसभामा सत्तारुढ र विपक्षी दुवैको बहुमत पुग्ने अवस्था छैन । यस्तो अवस्थामा स्वतन्त्र सांसद एवं युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) भने प्रदेशसभामा अनुपस्थित रहेका छन् । यो समाचार तयार पार्दासम्म मनाङे र मनाङेका सहयोगीसँग सम्पर्क हुन सकेको छैन ।

गण्डकी प्रदेशमा सरकार बचाउन र बनाउन ३१ सांसदको आवस्यकता पर्छ । प्रदेशसभामा एमालेका २७ सांसद छन् । स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनाएपछि मुख्यमन्त्रीको पक्षमा थिए । तर उनले प्रदेशसभा भंग गर्न नहुने भन्दै विपक्षी गठबन्धनलाई सघाउने आशयसाथ आजै बिहानदेखि सम्पर्कविहीन भएका छन् । राष्ट्रिय जनमोर्चाका सांसद थापाले पनि पार्टीमा विद्रोह गरी मुख्यमन्त्रीमा गुरुङलाई सघाउने भन्दै आएका छन् ।

मुख्यमन्त्री गुरुङको पक्षमा २९ मत देखिए पनि मन्त्री दीपक मनाङेको निश्चित छैन । अन्य दलका सांसदहरूले फ्लोरक्रस नगरे मुख्यमन्त्रीले विश्वासको मत पाउने छैनन् ।

 

विपक्षी गठबन्धनसँग पनि अहिल्यै बहुमत सांसद देखिँदैनन् । दीपक मनाङेले समर्थन गरे भने बहुमत पुग्छ । तर सत्तापक्ष विपक्षीलाई कुनै पनि हालतमा बहुमत पुर्‍याउनबाट रोक्नेमै केन्द्रित छ । यसो भएमा कसैको पनि बहुमत नपुगेको भन्दै प्रदेशसभा विघटनसमेत हुनसक्ने आकलन गरिएको छ । विपक्षी गठबन्धनमा कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाका ३ (एक जना कृष्ण थापाले विपक्षीलाई नसघाउने भनेका छन) र जनता समाजवादीका २ सांसद छन् ।

यस्तो अवस्थामा विपक्षी गठबन्धनमा ३० मत छ । सभामुखले राजीनामा दिएर ३१ पुर्‍याउने अन्तिम कसरत पनि उनीहरुको छ । विपक्षी गठबन्धनले प्रदेश प्रमुखले जालझेल गर्न सक्ने भन्दै बुधबार भेटेर त्यस्तो नगर्न भनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 80 = 85