ढोका थुनेर आगो लगाइएका आमाछोरीको उपचार सरकारले गर्ने

राष्टिय समाचार समाज

काठमाडौं । घरभित्रै आगो लगाएर मार्न खोजिएका एक आमाछोरीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

डोटीमा उपचार हुन नसकेका उनीहरुलाई हिजो सोमबार नै सरकारले नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याएर उपचार शुरू गरिसकेको छ । घरभित्र थुनेर आगो लगाएर मार्न खोजिएका ती आमाछोरीलाई उपचारका लागि तत्काल डोटीकै राजपुरस्थित सुजङ अस्पतालमा पुर्याएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि सोमबार घाइतेलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन, अर्थमन्त्री बिष्णु पौडेलको सहजीकरण र बन तथा वातावरण मन्त्री प्रेम आलेको पहलमा हेलिकोप्टरबाट उद्दार गरेर काठमाडौं ल्याइएको हो ।

जेठ १२ गते राती डोटीको आदर्श गाउँपालिका–४ रोडीका सन्तोष भाटले आफ्नो श्रीमती लक्ष्मी भाट र छोरी अञ्जु भाटलाई सुतिरहेको अवस्थामा कोठामा आगो लगाइ ज्यान मार्न खोजिएको थियो । आमा छोरीलाई आगो लगाएर फरार भएका भनिएका उनका श्रीमान सन्तोष भाट अहिलेसम्म सम्पर्कमा आएका छैनन् । आफ्नै पसलमा राति सुतिरहेकी श्रीमती र छोरीलाई प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउने उनकै श्रीमान भएको प्रहरीको अनुमान छ ।

घाइतेको उपचारमा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने र यस घटनामा संलग्न व्यक्तिमाथि कानूनबमोजिम कडा कारबाही गरिने गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 64 = 65