कांग्रेस नेता खतिवडा भन्छन्, ‘महेश बस्नेत दिउँसै गाँजा खाएर गफ दिन थालेछन्’

राष्टिय समाचार

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत दिउँसै गाँजा खाएर बोल्न थालेको टिप्पणी गरेका छन् ।

नेता बस्नेतले नेपाली कांग्रेस पार्टी फुटाइदिने  बताएको कुरा सञ्चारमाध्यममा आएपछि नेता खतिवडाले कडा टिप्पणी गरेका हुन् । कांग्रेस नेता खतिवडाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘महेश बस्नेत भन्ने पूर्वमन्त्री र माननीय दिउँसै गाँजा खाएर गफ दिन थालेछन् ।
कांग्रेस फुटाउने रे ? आफ्नो पार्टी दुईतिहाइबाट अल्पमतमा पुगेर आफैंले एमालेबाट केही नेतालाई (माझ समुह) हटाइएको अनि राष्ट्रपतिको सहाराले अध्यादेशमा अपहरणमार्फत देश चलाएको बिर्से कसो ? अपहरण बन्द गर !’ नेता बस्नेतले सोमबार आयोजित युवा संघको कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई फुटाइदिने चेतावनी दिएका थिए ।

याे पनि समाचार 

कांग्रेस र माओवादी विभाजन गर्न सक्ने हैसियतमा हामी छौं : महेश बस्नेत

नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र विभाजन गर्न सक्ने हैसियतमा आफूहरु भएको दाबी गरेका छन् । नेपाली कांग्रेसमा २३ भन्दा बढी सांसद र माओवादी केन्द्रमा २५।२६ सांसदले पार्टी विभाजन गर्न लागिरहेको भन्दै बस्नेतले दुवै दल विभाजन गर्न सक्ने हैसियत आफूहरुसँग भएको दाबी गरेका हुन् ।

‘हिजो एमालेविरुद्ध सत्तोसराप गर्ने नारायणकाजी श्रेष्ठ, जनार्दन शर्माहरु एमालेसँग एकता गर्नुपर्छ भन्ने कुरा गरिरहेका छन् । उनीहरुले जस्तो षड्यन्त्रपूर्ण ढंगले जाने हो भने कांग्रेसभित्रको २३ जना भन्दा बढी सांसदहरु कांग्रेस विभाजन गर्ने तहमा छलफल गरेका छन्,’ सोमबार युवासंघ नेपालको सचिवालय बैठकलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘माओवादी भित्रको २५।२६ सांसदहरु प्रचण्डबाट पार लाग्दैन अब तोड्नु पर्छ भनेर लागिरहेका छन् । हामीले उहाँहरुको जस्तो हर्कत गर्ने हो भने दुवै दलमा विभाजन गर्न सक्ने हैसियतमा हामी छौं ।’

 

यद्यपि राजनीतिमा यस्ता गतिविधि गरेबापत आफूहरुलाई अपहरणकारीको आरोप लाग्ने गरेको बस्नेतको भनाइ छ । ‘राजनीतिमा यस्ता गतिविधि गरेबापत हामीलाई अपहरणदेखि अनेक खालका आरोप लगाउने गर्छन् । यिनका यी आरोप जनतामा कसैले पत्याउने वाला छैनन् । केपी ओली शतिशाल झै उभिएका कारण यिनीहरु गन्ह्याउने झार जस्ता भएर ओइलाएका छन्,’ उनले भने ।

नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्ने अभियानलाई पनि सँगसँगै लैजाने दाबी बस्नेतले गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *