चतुर ओलीका सामु कसैकाे केही सिप चलेन अन्ततः बादललाई जिताएरै छाडे

राष्टिय

काठमाडौँ । प्रदेशमा खनाल–नेपाल समूहका कम्तीमा २२ सांसद र लगभग ४० स्थानीय प्रतिनिधि गरी ६० आसपास मतदाता छन् । यसको अर्थ खनाल–नेपाल पक्षसँग करिब १७ सय मतभार छ । खनाल–नेपाल समूहले आफ्ना पक्षका मतदातालाई ‘स्वविवेकीय अधिकार’ प्रयोग गर्न दिएपछि एमालेका बहुमत मतदाता रहँदारहँदै पनि गृहमन्त्री बादल जोखिमा परेका छन् । एमालेकै खनाल–नेपाल समूहको मत लिएर राष्ट्रिय सभा उपनिर्वाचनमा सत्तापक्षलाई धक्का दिने विपक्षी गठबन्धनको दाउ छ ।

बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभाका एक सदस्यको उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई मैदानमा उतारेका प्रधानमन्त्री केपी ओलीका लागि उनको जित प्रतिष्ठाको विषय बनेको छ । तर, झलनाथ खनाल–माधव नेपाल समूहले आफ्ना पक्षका मतदातालाई पार्टी निर्णय होइन, ‘स्वविवेकीय अधिकार’ प्रयोग गर्न दिएपछि एमालेका बहुमत मतदाता रहँदारहँदै पनि गृहमन्त्री बादलका लागि चुनौती पैदा भएको छ । एमालेभित्रको विवाद गृहमन्त्री थापाका लागि टाउकोदुखाइको विषय बनेको छ भने प्रधानमन्त्री ओलीका लागि प्रतिष्ठा दाउमा छ ।

एमालेकै खनाल–नेपाल समूहको प्रस्तावअनुसार डा. खिमलाल देवकोटालाई स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उतारेका कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको डा. बाबुराम भट्टराई र उपेन्द्र यादव समूहसहितको विपक्षी गठबन्धन राष्ट्रिय सभा उपनिर्वाचनमा सत्तापक्षलाई धक्का दिने दाउमा छ । एमालेभित्रको अन्तर्विरोधले खनाल–नेपाल समूहका मतदाता चुनावी मैदानमा निर्णायक अवस्थामा छन् । त्यसैले एमालेको एकल बहुमत रहे पनि खनाल–नेपाल समूहका मतदाताले परिणामलाई प्रभावित पार्न सक्छन् ।

सत्तापक्ष र प्रतिपक्ष गठबन्धन दुवैका लागि प्रतिष्ठा रहेको उपचुनावमा आज अंकगणितको परीक्षण हुँदै छ । उपनिर्वाचनका लागि बिहीबार बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदै छ । आयोगले उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढंगबाट गराउन शान्तिसुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरू व्यवस्थापनका सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मंगलबार कोटेश्वरस्थित निवासमै पुगेर गृहमन्त्री थापाले उपनिर्वाचनमा सहयोग गर्न नेपालसँग आग्रह गरेका थिए । खनाल–नेपाल समूहका मतदाताको भूमिकाका कारण जित कठिन भएको संकेतपछि बुधबार प्रधानमन्त्री ओलीले निर्वाचन आचारसंहिता मिचेर थापाको पक्षमा मतदान गर्न सार्वजनिक वक्तव्य नै जारी गरेका थिए ।

ओलीले निर्वाचनका लागि पार्टीका वरिष्ठ नेताहरूलाई समेत गृहमन्त्री थापासँगै हेटौँडा पठाएका छन् । तर, हेटौँडामा एमालेका दुवै समूह भिन्नाभिन्नै तरिकाले चुनावी रणनीतिमा जुटेका छन् । निर्वाचनको पूर्वसन्ध्यामा आफ्ना उम्मेदवार थापासँग बागमती प्रदेशको राजधानी हेटौँडा पुगेका ओलीनिकट नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले चुनावको परिणामले एमालेको भविष्य निर्धारण गर्ने धारणा व्यक्त गरेका छन् ।

‘बागमती प्रदेशबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गरिने चुनावको मानिसहरूले काउन्ट–डाउन गर्न थालेका छन् । तर, त्योभन्दा बढी देशको सबभन्दा ठूलो पार्टी एमालेको सुरक्षित जीवनको चासोचाहिँ सरोकारवालाले राखेको सत्यको कसीमा विश्लेषण गर्नु वस्तुनिष्ठ हुने पक्का हुन्छ है,’ बाँस्कोटाले ट्विटरमा लेखेका छन् ।

मतदानको अघिल्लो रात एमालेको दुवै पक्षका नेताहरू उपनिर्वाचनको अन्तिम तयारी गर्न हेटौँडामा जम्मा भएर छुट्टाछुट्टै छलफलमा जुटेका छन् । यसले पनि बाँस्कोटाले भनेजस्तै एमालेको भविष्यलाई जोड्ने वा तोड्ने भन्ने निर्धारण गर्ने पुष्टि हुन्छ । एमालेको ओली पक्षका नेताहरू सुवासचन्द्र नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ, गोकुल बाँस्कोटा, डोरमणि पौडेल, विद्यासुन्दर शाक्यलगायत नेताहरूले होटेलमै बसेर आफ्नो पक्षमा मतदान बढाउने विषयमा छलफल गरेका छन् ।

यस्तै, अष्टलक्ष्मी शाक्य र राजेन्द्र पाण्डेलगायत खनाल–नेपाल समूहका नेताहरूले कांग्रेसका इन्द्र बानियाँ र माओवादी केन्द्रका शालिकराम जम्मकट्टेलहरूको टोलीसँग रिसोर्टमा बसेर छलफल चलाएका छन् । कांग्रेस र माओवादी केन्द्रको छलफलमा एमाले नेतृ शाक्यले आफूहरूले गठबन्धनलाई नै साथ दिने बताएकी छिन् । स्रोतका अनुसार खनाल–नेपाल पक्षले गठबन्धनका स्वतन्त्र उम्मेदवार डा. देवकोटालाई नै मतदान गर्न आफूपक्षीय प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई ह्विप नै जारी गरेको छ ।

माओवादी केन्द्रसँगको एकतापछि एकीकृत पार्टी नेकपा हुँदै मतभेदमा उत्रिएका अध्यक्ष ओली र वरिष्ठ नेताहरू खनाल–नेपाल समूहबीच अहिले पार्टी एकता कसरी जोगाउने भन्ने विषयमा कार्यदल बनाएर छलफल चलिरहेको छ । तर, तीन दिनको समयावधि पाएको कार्यदलले समय घर्किनै लाग्दासमेत कुनै निष्कर्ष निकाल्न सकेको छैन ।

बिहीबार समय सकिनै लाग्दा कार्यदलको बैठक एकपटक मात्रै बसेको छ भने बुधबार तोकिएको बैठक बस्नै नसकेर बिहीबारका लागि सारिएको छ । बिहीबारै हुने उपनिर्वाचनमा खनाल–नेपाल पक्षले लिने निर्णयका आधारमा थप छलफल अगाडि बढाउनका लागि ओली पक्षले बैठक सारेको एमालेका नेताहरूले बताएका छन् । यस उपनिर्वाचनको परिणामले एमालेको एकता जोगाउने वा तोड्ने निधो गर्ने उनीहरूको भनाइ छ ।

निर्वाचनमा बागमती प्रदेश सभा सदस्य एक सय १० र प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख दुई सय ३८ गरी तीन सय ४८ मतदाता रहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् । प्रदेश सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुख निर्वाचनका लागि मतदाता हुन् । मतदातामध्ये एक प्रदेश सांसदको ४८ र स्थानीय तहका एक प्रतिनिधिको १८ मतभार हुन्छ ।

यसरी हेर्दा बागमती प्रदेश सभामा एक सय १० सांसदको ५२ सय ८० र एक सय १९ स्थानीय तहका दुई सय ३८ प्रतिनिधिको ४२ सय ८४ गरी जम्मा ९५ सय ६४ मतभार छ । यसमध्ये सबैभन्दा बढी एमालेका प्रदेश सभामा ५७ मध्ये एकजना सांसद पशुपति चौलागाईंको निधन भएसँगै ५६ जना र स्थानीय तहमा एक सय ३३ जना गरी एक सय ८९ मतदाता छन् । यसको कुल मतभार पाँच हजार ८२ हुन्छ ।

प्रदेशमा खनाल–नेपाल समूहका कम्तीमा २२ सांसद र लगभग ४० स्थानीय प्रतिनिधि गरी ६० आसपास मतदाता छन् । यसको अर्थ खनाल–नेपाल पक्षसँग करिब १७ सय मतभार छ । कांग्रेसका प्रदेश सभामा २२ र स्थानीय तहमा ६८ जना गरी ९० जना मतदाता छन् । जसको कुल मतभार २२ सय ८० हुन्छ । त्यस्तै, माओवादीको प्रदेश सभामा २३ र स्थानीय तहमा ३३ जना गरी ५६ जना मतदाता छन् । जसको कुल मतभार १६ सय ९८ हुन्छ । कांग्रेस र माओवादीको जोड्दा ३९ सय ७८ मतभार हुन आउँछ ।

खनाल–नेपाल पक्षका सात–आठ सय मतभार डा. देवकोटातिर गयो भने गृहमन्त्री बादलका लागि चुनौती बन्न सक्छ । यही अंकगणितले सत्तापक्ष एमालेलाई तनाव दिएको छ भने विपक्षी गठबन्धनले एमालेकै अन्तर्विरोधबाट जितको अपेक्षा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 77 = 79