पौडीबाज गौरिका सिंह एसियाकै प्रभावशाली शीर्ष ३० मा

समाज

काठमाडाैं । कीर्तिमानी ओलम्पियन पौडीबाज गौरिका सिंह एसियाको प्रभावशाली युवाको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा पर्न सफल भएकी छन्। अमेरिकाको चर्चित म्यागजिन फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सूचीमा गौरिका इन्टरटेन्मेन्ट एन्ड स्पोर्टसतर्फ एसियाको प्रभावशाली ३० युवामा पर्न सफल भएकी हुन्।

‘गौरिका सिंह नौ वर्षको उमेर देखि पौडी खेलमा छिन् । १२ वर्षदेखि नेपालका लागि खेलिरहेकी छिन्’, उनीबारे फोर्ब्सले लेखेको छ, ‘दक्षिण एसियाली खेलकुद (साग) मा ४ स्वर्ण, २ रजत र ३ कास्य पदक जितिन्। सन् २०१६ को रियो ओलम्पिकमा सबैभन्दा कम उमेरकी खेलाडीका रुपमा प्रतिस्पर्धा गरिन्।’

गौरिका १३ वर्षको उमेरमा रियो ओलम्पिकमा सहभागी भएकी थिइन् । डेढ वर्षअघि नेपालमै भएको १३ औँ साग खेलकुदमा गौरिकाले कीर्तिमानी उपलब्धि हात पारेकी थिइन्। बेलायतमा बस्दै आएकी उनी नेपालका लागि पौडीको व्यक्तिगत स्पर्धामा स्वर्ण जित्ने पहिलो खेलाडी हुन् ।

‘गौरिका टोकियो ओलम्पिक २०२० लाई छनोट भएकी छन्। टोकियो ओलम्पिक जुलाई–अगस्टमा हुँदैछ’, फोर्ब्सले भनेको छ, ‘पौडीबाहेक उनी समाजसेवामा पनि छिन् । उनी माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभकी सद्भावना दूत पनि हुन्।’

फोर्ब्सको यही विधामा गत वर्ष एमेच्योर गल्फ खेलाडी प्रतिमा शेर्पा छानिएकी थिइन् । ओलम्पिक तयारीका लागि करिब २ महिना स्वदेशमा रहेर गौरिका चैत २० गते बेलायत गएकी छन्। कोरोना महामारीले नियमित अभ्यासमा पनि समस्या भएपछि गौरिका नेपाल आएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 4 = 6