७०५ स्थानीय तहको मतपरिणाम सार्वजनिक : कांग्रेसभन्दा कति पछि पर्‍यो एमाले ?

राष्टिय समाचार समाज

काठमाडाैं । गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । बिहान साढे ११ बजेसम्म ७०५ स्थानीय तहको मत परिणाम आइसकेको छ । अब ४५ स्थानीय तहको मात्र मत परिणाम आउँन बाँकी छ । जसमध्ये पाँच महानगरपालिका र अन्य स्थानीय तह बाँकी छन् ।

प्राप्त मत परिणामले अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा ३६६ सिट ल्याएर दोस्रो दलको हैसियत पाएको नेपाली कांग्रेसलाई सबैभन्दा धेरै लाभ मिलेको छ । कांग्रेसले अहिलेसम्म ३११ सिट जितेर पहिलो पार्टी बनेको छ । उसको अझै १४ स्थानीय तहमा अग्रता देखिन्छ ।

अघिल्लोपटक २९४ स्थानीय तह जितेर पहिलो पार्टी बनेको नेकपा एमाले अहिलेसम्म १९० स्थानीय तहमा जितेर दोस्रो हैसियतमा छ । उसको अझै १६ स्थानीय तहमा अग्रता छ ।

यस्तै, अघिल्लो स्थानीय तह निर्वाचनमा १०६ स्थानीय तह जितेर तेस्रो दलको हैसियत पाएको नेकपा माओवादीले यसपटक पनि आफ्नो पोजिसन कायम राखेको छ । तर, स्थानीय तहतर्फ भने माओवादीले परिणाम बढी निकालेको छ । उसले अहिलेसम्म १२० स्थानीय तह जितेको छ भने अझै २ स्थानीय तहमा उसको अग्रता देखिन्छ ।

अघिल्लोपटक ३४ स्थानीय तह जितेर चौथो हैसियत बनाएको तत्कालीन संघीय समाजवादी फोरम अहिले जनता समाजवादी पार्टी भएको छ । उसले आफ्नो चौथो स्थान कायम राख्दै अहिलेसम्म २७ स्थानीय तहमा जित निकालेको छ । अझै चार स्थानीय तहमा उसको अग्रता छ ।

यसैगरी, गत वर्षसम्म अस्तित्वमै नरहेको नेकपा एकीकृत समाजवादी पार्टीले भने पार्टी स्थापनाको एक वर्ष नपुग्दै भएको निर्वाचनमा पाँचौँ पार्टीको हैसियत बनाएको छ । नेकपा एसले अहिलेसम्म १७ स्थानीय तहमा जित निकालेको छ भने अरु दुई स्थानीय तहमा अग्रता कायम गरिरहेको छ ।

अघिल्लो स्थानीय तह निर्वाचनमा २५ स्थानीय तह जितेर पाँचौँ पार्टीको हैसियत बनाएको तत्कालीन राष्ट्रिय जनता पार्टी राजपा अहिले लोकतान्त्रिक समाजवादी पार्टी लोसपा भएको छ । अहिलेसम्म लोसपा नेपालले १२ स्थानीय तहको नेतृत्वमा जित निकालेको छ भने अरु पाँच ठाउँमा अग्रता काम राखेर छैटौं दलको हैसियत बनाएको छ ।

धनगढी उपमहानगरपालिकाको मेयरमा हमाल विजयी

कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । नेपाली काँग्रेसका नृपबहादुर वडलाई भारी मतान्तरले पराजित गर्दै हमाल विजयी भएका हुन् ।

अघिल्लोपटक हमाललाई नै हराउँदै मेयर बनेका वड यसपटक सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका थिए। हमालले वडलाई १२ हजार भन्दाबढी मतले पराजित गरेका हुन् ।

हमालले २६ हजार ८६५ मत पाए भने वडले १४ हजार ८१७ मत पाएका छन्। यस्तै एमालेका रणबहादुर चन्दले ९ हजार ११५ मत पाएका छन् । यस्तै उपमहानगरपालिकाको उपमेयरमा एमाले उम्मेदवार कन्दकला राना विजयी भएकी छिन्।

उनले सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार शान्ति अधिकारीलाई पराजित गरेकी हुन्। रानाले १५ हजार ४७९ मत पाउँदा माओवादी केन्द्रकी अधिकारीले १२ हजार ६७० मत पाइन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६०९ मत पाए ।

उपमहानगरमा रहेका १९ वटा वडामध्ये ११ वडामा नेपाली काँग्रेस, ६ वडामा नेकपा एमाले र दुई वडामा माओवादी केन्द्र विजयी भएको छ। २०७४ सालको निर्वाचनमा काँग्रेसले मेयर र उपमेयरसहित १२ वडामा जित निकालेको थियो । माओवादी केन्द्र ५ वडामा विजयी हुँदा एमाले भने २ वडामा मात्रै विजयी भएको थियो। यसपटक एमालेले भने धनगढीमा अवस्था सुधार गरेको छ ।

 

Leave a Reply

Your email address will not be published.

27 − = 25