राष्ट्रियसभा सदस्यको निर्वाचनमा बागमती प्रदेशमा एमालेलाई धक्का, यस्तो छ मतभार

राष्टिय समाचार समाज

काठमाडाैं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचन अन्र्तगत बागमती प्रदेशमा २ सिटका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल एमालेका ६ जना उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् ।

मतभारको आधारमा बागमती प्रदेशमा पनि गठबन्धनकै जित सुनिश्चित देखिन्छ ।निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बागमती प्रदेशमा साझा उम्मेदवारी दर्ता गराएका छन् । भने, प्रमुख प्रतिपक्षी दल एमाले र नेमकिपाले छुटाछुटै उम्मेदवारी दर्ता गराएका छन् ।

विपक्षी दलहरुले छुटाछुटै उम्मेदवारी दर्ता गर्दा सत्तारुढ दललाई जितका लागि थप सहज भएको छ । हुन त विपक्षी दल सबै एक ठाउँमा भए पनि गठबन्धनसामु त्यो एकता काम लाग्ने देखिन्न ।

यस्तो छ तुलनात्मक मत मतभार

संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा १ सय ९ जना प्रदेशसभा सदस्य रहेका छन् । यस्तै प्रमुख, उपप्रमुख २ सय ३७ जना रहेका छन् । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुखले नै राष्ट्रियसभा सदस्यका उम्मेदवारलाई मतदान गर्नेछन् ।

प्रदेशसभा सदस्यको मतभार ४८ र स्थायीतहका प्रमुख, उपप्रमुखको मतभार १८ हो । बागमती प्रदेशमा जम्मा मतभार ९४ सय ९८ रहेको छ । प्रदेशसभाका सदस्यहरुको ५२ सय ३२ र स्थानीय तहका प्रमुख, उपप्रमुखहरुको मतभार ४२ सय ६६ छ ।

सत्तारुढ गठबन्धनमा रहेको कांग्रेसको बागमती प्रदेशमा सांसद संख्या २२ र स्थायी तहको प्रमुख, उपप्रमुखको संख्या ६७ रहेको छ । जसको मतभार २२ सय ६२ हुन्छ ।

माओवादी केन्द्रको सांसद संख्या २३ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या ३४ रहेको छ । जसको मतभार १७ सय १६ हुन्छ ।

एकीकृत समाजवादीको सांसद संख्या १३ र स्थानीय तहको प्रमुख, उपप्रमुखको संख्या १७ रहेको छ । जसको मतभार ९ सय ३० हुन्छ ।

जसपाको सांसद संख्या १ मात्रै रहेको छ । बागमती प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुखको संख्या शुन्य हो । त्यसैले जसपाको मतभार ४८ मात्र हुन्छ ।

प्रमुख प्रतिपक्षी दल एमालेको बागमती प्रदेशमा सांसद संख्या ४३ र स्थानीय तहका प्रमुख, उपप्रमुखको संख्या १ सय १५ रहेको छ । यसआधारमा एमालेको मतभार ४१ सय ३४ हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 82 = 84