भीम रावललाई दश भाइले देलान त मत ? यस्तो भन्छन् नेताहरु

राष्टिय समाचार समाज

काठमाडौं । भिम रावलजस्तै एमाले विभाजनको अन्तिम घडीमा माधव नेपालको साथ छाडेका नेताहरुले अहिलेसम्म रावलले अध्यक्ष उठ्नेबारे छलफल नगरेको नेताहरुले प्रतिक्रिया दिएका छन्।

स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अहिलेसम्म त्यसबारेमा कुनै छलफल नभएको दाबी गरे। महाधिवेशनमा ओलीबाहेक अरुको अध्यक्षमा उम्मेदवारी पर्ने सम्भावना पनि निकै कम रहेको उनले बताए।

‘अहिलेसम्मको अवस्था हेर्दा हाम्रो पार्टीमा अध्यक्षको निर्वाचन हुने सम्भावना कम छ,’ पाण्डेले भने, ‘ओलीले ठ्याक्कै नभने पनि उहाँ नै अध्यक्षमा सर्वसम्मत हुने देखिन्छ।’

तर, दस नेता मध्येकै अर्का एक नेताले भने जुनसुकै पदमा उठ्ने अधिकार रहेकोले चुनाव हुन सक्ने बताए। रावलले अध्यक्ष उठ्ने विषयमा सल्लाह नगरे पनि पार्टी कमिटीका निर्वाचनमा भने चुनाव हुनसक्ने ती नेताको भनाइ छ।

‘महाधिवेशनमा योग्यता पुगेका सबैलाई उठ्ने अधिकार छ,’ ती नेताले भने, ‘रावल कमरेडले अध्यक्ष उठ्छु भन्नुभयो भने छलफल त होला। भोट माग्नुहुन्छ होला। मत दिने नदिने नेताहरुको विवेकमा भरपर्छ।’

त्यसो त रावल आफैँले पनि औपचारिक रुपमा अध्यक्षको उम्मेदवार हुने घोषणा नगरेको बताए। ‘कार्यकर्ता सबैले अध्यक्षमा लड्नु भन्नुभएको छ। तर, अहिलेसम्म घोषणा गरेको छैन,’ रावलले बुधबार एक रेडियोलाई अन्तर्वार्ता दिँदै भने, ‘महाधिवेशनका बेला घोषणा गर्छु। त्यसअघि दस नेताहरुसँग छलफल गर्छु।’

पार्टीको औपचारिक निर्णय कुरेको उनले बताए। ‘पार्टीको औपचारिक निर्णय कुरिरहेको छु,’ उनले थपे, ‘अध्यक्षमा उम्मेदवारी दिनेबारे साथीहरुसँग परामर्श गरिरहेको छु, निष्कर्षमा पुगेको छैन।’

ओलीले १५ पदाधिकारीको सूचीमा रावललाई समेत अटाउन चाहेका छन्। उनले वरिष्ठ उपाध्यक्षमा हालका महासचिव रहेका ईश्वर पोखरेललाई अगाडि सार्दा त्यसपछि रामबहादुर थापा बादल, सुवास नेम्वाङ, भीम रावल र अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्ष बनाउने तयारी गरेका छन्।

तर, रावलले अध्यक्ष ओलीविरुद्ध नै महाधिवेशनमा अध्यक्षको उम्मेदवारी दिने बताएपछि परिस्थिति बेग्लै हुने देखिन्छ।

 

Leave a Reply

Your email address will not be published.

64 + = 65