प्रचण्डले दिए घमण्डले भरिएको अहँकारपूर्ण यस्ताे अभिव्यक्ति

राष्टिय समाचार समाज

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिको केन्द्रमा माओवादी नै भएको दाबी गरेका छन् ।

सोमबार कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीको साथले नै गठबन्धनबाट ६ वटै प्रदेशमा ओली प्रवृति परास्त गरेको बताएका हुन् ।

प्रचण्डले माओवादीलाई साथ दिँदा राष्ट्रिय हित हुन्छ भन्ने जनतामा भाव पैदा हुन थालेको स्पष्ट पारेका छन् । उनले पार्टी विभाजन नभई अदालतबाट विभाजन गराइएको दाबी गरेका छन् ।

प्रचण्डले भने, ‘ओलीलाई पार्टीबाट दुईतिहाई मतले निकालिएको थियो । संसदीय दलको नेताबाट पनि हटाइएको थियो । संसदीय दलको नेताबाट मलाई निर्वाचित गरेर मलाई प्रधानमन्त्री बनाउने निर्णय गरिएकै दिन अदालतबाट नेकपालाई विभाजन गरी एमाले र माओवादी बनाइयो ।’

उनले माओवादीले गरेका कामको प्रचार कम भएको बताए । ‘हामीले राम्रा(राम्रा काम गर्‍यौं, सामान बनायौं । बिक्री गर्न जानिराखेका छैनौं, मार्केटिङ गर्ने हाम्रो क्षमता अलि पुगेको छैन’,

प्रचण्डले भने, ‘ऐतिहासिक काम, जनताका जीवनमा परिवर्तन ल्याउन गरिएका विकास निर्माणका कामहरू जनताको बीचमा स्थापित गर्न जरुरी छ ।’

उनले जनता बीचमा केही कमजोरी गरिएकाले आत्मआलोचना गर्दै जनताको घरमा जाँदा केही महिनामै उभार आउने दाबी गरेका छन् । उनले नयाँ संकल्पसहित पार्टी र जनसंगठन पुनर्गठन गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

प्रचण्डले माओवादी नेता विचार,संगठनमा लाग्न छोडेको देख्दा बुर्जाहरुको मनोबल बढेको आशंका गरेका छन् । प्रचण्डले अलिअलि एमाले–एमालेजस्तो, अलिअलि कांग्रेसजस्तो देखिएभन्ने जनताले ठान्न थालेको उल्लेख गर्दै माओवादी फरक हो भन्ने देखाउनुपर्ने धारणा राखेका छन् । जनआन्दोलनबाट प्राप्त उपलब्धि समाप्त पार्ने षडयन्त्र भइरहेको बताएका छन् ।

उनले जनताको लोकतन्त्र, संविधानको रक्षा र राष्ट्रियताका विषयमा आधारभूत सहमति भएपछि गठबन्धनको सरकार बनेको बताएका छन् ।

उनले माओवादीकै सहमतिमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सिफारिस गरेपछि अदालतले नियुक्त गर्न आदेश दिएकाले माओवादीकै विचारको जीत भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published.

73 − 68 =