निपा भाइरसको जोखिममा काठमाडौं र भक्तपुर !

Health Tips राष्टिय समाचार समाज

डा शेरबहादुर पुन

भारतको केरला राज्यमा केही दिनअगाडि एक १२ वर्षीय बालकको निपा भाइरसका कारण मृत्यु भएको पुष्टि भयो।

कोरोना महामारी प्रवेश गर्नु एक वर्षअगाडि पनि सोही राज्यमा निपा भाइरसका कारण कम्तीमा १७ जनाको मृत्यु भएको थियो।

नेपाल सरकारले पनि केही दिन अगाडि मात्र निपा भाइरसविरूद्ध सतर्कता अपनाउन र शंकास्पद बिरामी देखिए नमूना संकलन गर्न अनुरोध गरेको थियो।

के नेपाल पनि निपा भाइरसको जोखिममा छ? त्यसका लागि पहिले यो भाइरसको स्रोत केलाउनुपर्ने हुन्छ।

निपा भाइरस विशेषत पशुपंक्षी र संक्रमित मानिस गरी दुई वटा स्रोतहरूबाट सर्ने गर्छ। पशुपंक्षीमा पनि विशेष गरी ‘फ्रुट ब्याट’ (चमेरो) र संक्रमित सुंगुर लगायत अन्य पशुहरूको सम्पर्कबाट सर्ने गर्छ।

निपा भाइरस मानिसबाट मानिसमा सर्ने भएकोले थप चिन्ता देखिएको हो।

विगतमा पनि यसको मृत्युदर ७५ प्रतिशतसम्म देखिएको थियो। अर्थात् १० जना संक्रमितमध्ये ७ जनाको मृत्यु हुनु हो। तसर्थ यसलाई घातक संक्रामक रोग भनेर बुझ्दा हुन्छ।

निपा भाइरस उपचारको लागि निश्चित औषधि छैन भने यो भाइरसविरूद्ध खोप पनि हालसम्म उपलब्ध छैन।

संक्रमण भएको चारदेखि चौध दिनसम्ममा सामान्यतया लक्षणहरू देखिने गर्छ। उच्च ज्वरो आउनु, टाउको दुख्नु, घाँटी दुख्नु, जिउ दुख्नु, बान्ता हुनु तथा श्वासप्रश्वासमा समस्या देखिनु यसका मुख्य लक्षण हुन्।

तत्पश्चात् बिरामी भ्रमित हुने, अलमलमा पर्ने र अचेत अवस्थामा समेत पुग्ने गर्दछ। मष्तिष्कमा प्रभाव पारेको ४८ घण्टासम्ममा बिरामी अचेत अवस्थासम्म पुग्ने गर्दछ। तर कसै-कसैलाई संक्रमण भएको महिनौं वा वर्षपछि पनि मृत्यु हुनसक्ने अनुसन्धानहरूले देखाएको छ।

उपचारपश्चात् धेरैजना निको हुने भएता पनि झन्डै २० प्रतिशतमा भने यसको प्रभाव मष्तिष्कमा रहिरहने हुन्छ। निपा भाइरसको निदान एलाइजा(एन्टीबडी) र पिसीआर प्रविधिबाट गर्न सकिन्छ।

भारत र विभिन्न देशमा जस्तै नेपालमा पनि ‘टरोपस’ प्रजातिको चमेरा (फ्रुट ब्याट) पाइन्छ। यही जातको चमेरो निपा भाइरसको प्राकृतिक होस्ट मानिन्छ।

भारत, बंगलादेश, मलेसिया, थाइल्यान्डलगायत देशहरूमा ‘टेरोपस’ प्रजातिको चमेरामा गरिएका अनुसन्धानहरूले निपा भाइरसले संक्रमण गर्ने गरेको देखिएको छ। नेपालमा पनि काठमाडौं उपत्यकाको काठमाडौं र भक्तपुर लगायत विभिन्न जिल्लाहरूमा ‘टेरोपस’ प्रजातिको चमेरा देखिएको अनुसन्धानहरूले देखाउँछ।

त्रिभुवन विश्वविद्यालय, पोखरा तथा मध्य-पश्चिमाञ्चल विश्वविद्यालयहरूका अनुसन्धानकर्ताहरूले संयुक्त रूपमा काठमाडौं तथा भक्तपुरमा रहेका सो प्रजातिको चमेराका खानपान र व्यवहारमा केन्द्रित भएर अनुसन्धान गरेका थिए।

तर निपा भाइरस लगायत अरू संक्रमणहरुको बारेमा भने खोजमा समावेश थिएन। तसर्थ: नेपालमा पनि विशेषत काठमाडौं उपत्यकामा भएका चमेरामा मानिसको लागि घातक मानिएका संक्रमणहरूलाई लक्षित गरेर अनुसन्धान हुन जरूरी छ।

सन् १९९९ मा पहिलोपटक निपा भाइरस मलेसियाका सुंगुर पालक कृषकहरूमा प्रकोपको रूपमा फैलिएको थियो। नेपालमा पनि सुंगुर पालन गर्ने कृषकहरू धेरै रहेकाले जैविक सुरक्षाका उपाय अपनाउन जरूरी छ।

सन् २००१ मा भारतको सिलिगुरीमा निपा भाइरसको ‘आउटब्रेक’ भएको थियो। झन्डै ७५ प्रतिशत संक्रमण स्वास्थ्यकर्मी र अस्पताल आवतजावत गर्नेहरूमा देखिएको थियो।

उक्त घटनाले निपा भाइरस पशुपंक्षीबाट मात्र नभई मानिसबाट मानिसमा पनि सहजै फैलने सक्ने देखिन्छ।

यो घटनाले स्वास्थ्यकर्मीहरू थप जोखिममा हुने देखिन्छ।

काठमाडौंमा सयौं स्वास्थ्य केन्द्र, अस्पताल तथा प्रयोगशालाहरू छन् तर सबै ठाउँमा सुरक्षाका उपायहरू अपनाएको देखिँदैन। जसले गर्दा निपा भाइरसको जोखिम स्वास्थ्यकर्मीहरूबीच नै उच्च भएको देखिन्छ।

विश्व स्वास्थ्य संगठनले समुदायको लागि उच्च जोखिम मानिएका ९ संक्रामक रोगहरूमध्ये निपा भाइरसलाई पनि समावेश गरेको छ।

तर नेपालमा भने निपा भाइरसको अनुसन्धानमा राज्यको सहयोग वा ध्यान गएको देखिँदैन। हाल यसको विशेष औषधि तथा खोप उपलब्ध नभएकोले बच्ने उपाय अपनाउनु नै उत्तम हुनेछ।

त्यसका लागि फलफूल राम्ररी सफा गरेर मात्र उपभोग गर्ने, सुंगुरमा स्वास्थ्य समस्या देखिए कृषकहरूले तुरुन्त विशेषज्ञसँग जाँच गराउने र स्वास्थ्यकर्मीहरूले सुरक्षाका उपायहरू अपनाएरमात्र बिरामीको नमूना संकलन गर्ने वा उपचार गर्नुपर्छ।

अन्तमा, निपा भाइरस उच्च घातक संक्रामक रोग हो। काठमाडौं उपत्यका नेपालको सबैभन्दा बढी जनघनत्व भएको ठाउँ र निपा भाइरसको स्रोत मानिने ‘टेरोपस’ प्रजाति चमेराको पनि बासस्थान भएकोले काठमाडौं सबभन्दा बढी जोखिममा पर्ने सहर हो।

तसर्थ काठमाडौं तथा भक्तपुरका चमेरामा निपा भाइरस छ/छैन भन्ने पुष्टि गर्न सके आगामी दिनमा यो भाइरसविरूद्ध सतर्कता अपनाउन र निपा निर्देशिका बनाउन पनि सहज हुनेछ।

(लेखक शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटमा संयोजकका रूपमा कार्यरत छन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

72 − 70 =