रामकुमारी झाँक्री भन्छिन्, ‘एमालेले औकात अनुसारको काम गर्‍यो’

राष्टिय समाचार समाज

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी सांसद रामकुमारी झाँक्रीले प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो औकात अनुसारको व्यवहार बुधबारको संसदमा देखाएको टिप्पणी गरेकी छन् ।

प्रतिनिधिसभा बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै उनले एमालेले बुधबार संसदमा देखाएको व्यवहार स्तरहीन भएको बताइन् ।

एमालेले सांसद झाँक्रीसहित १४ जना सांसदलाई गैरसांसदको संज्ञा दिएको छ । एमालेले ‘गैरसांसदलाई संसदमा राख्न पाइँदैन’ भन्दै संसदमा नारा नै लगाएको थियो ।

यसप्रति टिप्पणी गर्दै सांसद झाँक्रीले भनिन्, ‘संसदका हत्यारा र त्यसका मतियारहरुले संसद बचाउनको लागि निरन्तर लड्नेहरुलाई यो आरोप लगाउनु आफैंमा हास्यास्पद छ । र, यो स्तरहीन प्रदर्शन, स्तरहीन चरित्रकामाथि खासै प्रतिक्रिया दिन मन छैन ।’

‘तर, तपाईंहरुलाई ननिकालेकै कारण एमालेले बैठक अवरुद्ध गर्‍यो नि ?’ भन्ने पत्रकारहरुको प्रश्नमा उनले थपिन्, ‘उहाँहरुको औकात अनुसारको काम गर्नुभएको छ ।’

दुईतिहाइ बहुमतको सरकारलाई बालुवाटारबाट बालकोटको बार्दलीमा पुर्‍याएको उल्लेख गर्दै उनले भनिन्, ‘… उहाँहरुले आक्रोश पीडा, रिस, राग, बदला अझै केही दिन लिने नै हो । गैरराजनीतिक चरित्र प्रदर्शनले उहाँहरु नै नाङ्गिनुभएको छ ।’

१४ जनालाई ननिकालेसम्म सदन चल्न एमालेले नदिने रे नि ? भन्ने प्रश्नमा सांसद झाँक्रीले केपी ओलीलाई लाग्यो त्यो नहुने बताइन् ।

‘खड्गप्रसाद ओलीलाई लाग्या त हामीलाई धर्तीमा बाँच्न नदिने गर्नुहुन्थ्यो होला, तर उहाँको चाहनाले सबै कुरा हुँदैन । सदन चल्छ, सरकारले बिजनेस दिन्छ । ओलीको चाहनाले हुन्थ्यो भने त हामीलाई उभिन पनि किन दिएको भन्नुहुन्थ्यो होला । उहाँको चाहनाले हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 5 =