विद्युत् प्राधिकरणलाई हरेक दिन ४ करोड नोक्सान, कुलमानले नि केही लछारपाटाे लाएनन् !

राष्टिय समाचार समाज

काठमाडौँ । मुलुकमा विद्युत् खपत वृद्धि हुन नसक्दा माथिल्लो तामाकोसी (४५६ मेगावाट) उत्पादन भएसँगै दैनक चार सय मेगावाट बिजुली खेर गइरहेको छ । यसबाट विद्युत् प्राधिकरणलाई हरेक दिन चार करोड रुपैयाँ नोक्सान परिरहेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार बेलुकी केही बेरका लागि १५ सय मेगावाट (उच्चतम माग अर्थात् पिक लोड) खपत भए पनि चार सय मेगावाट ‘स्पील’ (जगेडा अर्थात् खपत हुन नसकेको) छ ।

प्राधिकरणको ‘बेस लोड’ (एकनास खपत भइरहने परिमाण) भने करिब एक हजार मेगावाट छ । उच्चतम माग भने केही घण्टाका लागि मात्र हो ।

आगामी असोज महिनादेखि बिजुली माग घट्न गई यस्तो जगेडा बिजुलीको परिमाण ६ सय मेगावाट पुग्ने घिसिङले बताए । ‘असोजदेखि दशैं, तिहार, चाडपर्व, उद्योगहरु बन्द हुने लगायतका कारण खपत झन् कम हुनेछ,’ घिसिङले भने ।

चार सय मेगावाट बिजुली खेर फाल्नुपर्ने स्थितिले प्राधिकरणलाई दैनिक चार करोड रुपैयाँ नोक्सान परिरहेको पनि घिसिङले बताए । ‘प्राधिकरणको ठूलो चुनौती भनेकै अहिलेका लागि बिजुली जगेडा हुनु हो,’ घिसिङले भने, ‘खपत बढाउने दिशातिर प्राधिकरण गम्भीर रुपले लागिपरेको छ ।’

प्राधिकरणले तत्काल खपत बढाउन भारतको एनभीभीएनमार्फत इण्डियन इनर्जी एक्सचेञ्ज (आईईएक्स) सँग छलफल तीव्र पारिरहेको पनि घिसिङले बताए । ‘हाम्रो कूटनीतिक च्यानलमार्फत भारतको विभिन्न मन्त्रालयहरुसँग छलफल भइरहेको छ,’

उनले भने, ‘छिट्टै यसको निर्णय हुनेछ ।’ नेपाल विद्युत् प्राधिकरण र भारतको एनटीपीसी विद्युत् निगम लि. (एनभीभीएन) बीच ‘डे अहेड पावर ट्रेडिङ’ (कारोबार हुने बिजुलीको परिमाण एक दिनअघि तोक्नुपर्ने) सम्बन्धी सम्झौता २२ अप्रिल २०१९ मा भएको थियो ।

एनभीभीएनले आईईएक्सबाट बिजुली खरिद गर्ने र उसले प्राधिकरणलाई दिने बन्दोबस्ती छ । उक्त सम्झौताअनुसार स्थापित संयन्त्रद्वारा प्राधिकरणले १ मे २०२१ देखि बिजुली आयात गरिरहेको छ ।

तर भारतले नेपालबाट उत्पादित बिजुली निर्यात गर्न पाउने प्रस्तावलाई भने अहिलेसम्म स्वीकृत गरिसकेको छैन । प्राधिकरणले माथिल्लो तामाकोसी (४५६ मेगावाट) र माथिल्लो भोटेकोसी (४५ मेगावाट) बाट उत्पादित बिजुली निर्यात गर्न प्रस्ताव गरेको छ । यही प्रस्तावउपर भारतीय निकायबीच छलफल भइरहेको हो ।

आईईएक्सबाट जसरी आयात भइरहेको छ, त्यसैगरी निर्यात गर्ने प्रस्ताव स्वीकृत भएमा प्राधिकरणले वर्षायामका जगेडा बिजुली सबै खपत गराउन सक्छ । आईईएक्समा मध्यरातमा एक युनिट बिजुलीको भारु २० रुपैयाँसम्म पर्ने गरेको छ ।

भारतमा वर्षायाममा बिजुलीको अत्यधिक खपत हुने र माग बढ्ने तर आपूर्ति पनि सीमित भएकाले पिक समयमा बिजुली महँगो हुने गरेको बजारले देखाएको छ । गत वर्ष प्राधिकरणले भारतबाट २२ अर्ब रुपैयाँको बिजुली आयात गरेको थियो ।

यतिखेर प्राधिकरणको आप्mनै २२ वटा विद्युत् गृहको उत्पादन जडित क्षमता ६२६.७० मेगावाट छ । माथिल्लो तामाकोसी सञ्चालनमा आउनुअघिको कूल जडित क्षमताअनुसार प्राधिकरणले मात्रै २८००.८८३ गिगावाट घण्टा (२ अर्ब ८० करोड युनिट) बिजुली उत्पादन गर्छ । यो बिजुली देशमा उत्पादन हुने कूल बिजुलीको ४५.८४ प्रतिशत हो ।

निजी क्षेत्र र भारतबाट आयातीतसमेत गरी गत वर्ष प्राधिकरणको प्रणालीमा ८ अर्ब ८७ करोड युनिट बिजुली उपलब्ध थियो । अब माथिल्लो तामाकोसीको ६ वटै युनिट पूर्ण रुपमा सञ्चालनमा आएपछि जडित क्षमता १९०० मेगावाट कटेको छ भने वर्षायाममा जगेडा हुन थालेको छ ।

यसबाहेक निजी क्षेत्रका १०८ वटा आयोजना सञ्चालनमा छन् । तिनको जडित क्षमता ८१४ मेगावाट छ । निजी क्षेत्रबाट उत्पादित सबै विद्युत्गृहले वर्षायाममा जडित क्षमताअनुसार उत्पादन गर्छन् भने हिउँदयाममा एक तिहाई मात्रै उत्पादन गर्न सक्छन् । इकाजबाट

Leave a Reply

Your email address will not be published.

60 + = 62