केपी ओलीजी तपाईले सरकारमा बसेर देशलाई बर्बाद पार्नुभएको थियो : माधव नेपाल

राष्टिय समाचार समाज

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले केपी ओलीले सरकारमा बसेर देशलाई बर्बादमा पारेको आरोप लगाएका छन् । आज (शनिबार) पेशागत महासंघ बाग्मती प्रदेशको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ओलीले भजनमण्डली, साईबर स्यालहरुलाई मात्रै काखी च्यापेको तर अरुलाई अपमान गरेको पनि स्मरण गराए । उनले आफूहरुले देशको स्वाधिनतालाई रक्षा गर्नको लागि क्रान्तिकारी धारलाई अघि बढाएको र आज नयाँ पार्टी जन्मिएको पनि स्पष्ट पारे ।

उनले भने,‘भदौ ९ गते नै हामीले नयाँ पार्टीको प्रमाणपत्र प्राप्त गर्यौं । यो पार्टी केपी ओलीको पार्टीभन्दा भिन्न हुनेछ । यो क्रान्तिकारीको धारमा जानेछ । कमिटी प्रणालीलाई आत्मसात् गर्नेछ । कार्यकर्ताहरुको उचित मूल्यांकन गर्नेछ । जनताको समस्यासँग जोडिनेछ । युवा पुस्तालाई समेटेर उनीहरुको समस्या सम्बोधन गरेर जानेछ ।’

अध्यक्ष नेपालले भने, ‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु। आउनुहोस्– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस्।

म अध्यक्ष पदबाट त अहिल्यै भनि हाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै बिदा भइहाल्छु, भएन ? पदको लडाइँ होइन, यो। विचारको लडाइँ हो, यो। सिद्धान्तको लडाइँ हो यो। मूल्य र मान्यताको लडाइँ हो यो।’

अध्यक्ष नेपालले केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नुपरेको तर्क समेत गरे। उनले आफूविरूद्ध ओलीले कुप्रचार गरेको भन्दै आक्रोश समेत व्यक्त गरे।

आफूविरूद्ध कुप्रचार भइरहेको भन्दै अध्यक्ष नेपालले त्यस्ता झूट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए।

उनले भने, ‘खाली कूप्रचारबाहेक केही पनि छैन। यस्ता झूटा प्रचारको भ्रममा कोही पनि नपर्नुहोस्। उनीहरूको काम नै गोयबल्स शैलीको प्रचार गर्ने हो। मान्छेको चरित्र हत्या गर्ने प्रवृत्ति हो। यस्ता प्रवृत्ति भएका मान्छेहरू इमान्दार, क्रान्तिकारी कम्युनिष्ट हुन सक्छन् ?’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

25 − 20 =