अष्टलक्ष्मी शाक्यले क्याम्प फेरिन्, माधव कमरेडको टुट्यो मन !

राष्टिय समाचार समाज

काठमाडाैं । माधव नेपालले सिन्धुलीका नेता कार्यकर्ताहरुको माझमा तीन दिन अघि एमाले एकता सजिलो नभएको र जसलाई जहाँ कम्फर्ट हुन्छ त्यही जान सकिने सुनाएका थिए । ती नेताहरुसँग खुलेर बोलेका नेपालले भीम रावल पनि साथमा नरहने संकेत गरेका थिए । त्यतिबेला भनेका पनि थिए, ‘गणेशजी जानुभयो त्यसमा मेरो केही भन्नु छैन्, जसलाई जहाँ सजिलो हुन्छ त्यही जाने हो ।’

नेपालको बुझाइमा भीम रावलले साथ नदिने देखिन्छ । अहिले नेपालनिकट दोस्रो तहका नेताहरु मौन देखिन्छन् । केही दिनअघिसम्म एकता भईहाल्छ आजभोलि नै हुन्छ भनेका सुरेन्द्र पाण्डे, गोकर्ण विष्टसहितका नेता अहिले बोल्न छाडेका छन् ।

तेस्रो तहका नेताहरु मेटमणि चौधरी, विरोध खतिवडा, रामकुमारी झाँक्री चाहिं एमाले फोड्नै पर्ने अभियानमा बढ्ता सक्रिय देखिएका छन् र पार्टी विभाजनको पक्षमा लागिरहेका छन् । चौधरी, झाँक्री र खतिवडाहरु ओली विनाको एमाले बनाउनुपर्ने पक्षमा सक्रिय छन् । उनीहरु वास्तवमा किन यति धेरै चर्को भएर लागेका होलान् ?

खासमा दोस्रो पुस्ताका नेताहरु नै नेपालका लागि भरलाग्दो नभएपछि नेपाल तेस्रो पुस्ता फकाउन लागेका छन् । त्यही क्रममा दायाँबायाँमा झाँक्री, विजय पौडेल, मेटमणि चौधरी, विरोध खतिवडालाई राख्न थालेका छन् । खासै जनधार नभएका विजय पौडेललाई नेपालले गठबन्धनको बैठकमा प्रतिनिधिको रुपमा पठाउन थालेका छन् । गठबन्धन दलहरुको बैठकमा अहिलेसम्म पौडेल दुईपटक सहभागी भइसकेका छन् ।

कमरेड अष्टको मन फेरियो ?

एमालेका अध्यक्ष केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीस“ग सबैभन्दा बढी आक्रोश पोख्ने र सार्वजनिकरुपमै चर्को आलोचकका बन्दै आएकी नेतृ हुन अष्टलक्ष्मी शाक्य । २०७४ को प्रदेश सभा निर्वाचन अघि बागमती प्रदेशको मुख्यमन्त्रीको रुपमा शाक्यलाई प्रदेशमा उठाइएको थियो । र, त्यसको बचन अध्यक्ष केपी ओलीले पनि दिएका थिए । त्यसैअनुसार तयारीमा पनि गरेकी थिइन ।

त्यही आश्वासन र तयारीसहित प्रदेशमा उम्मेदवार उठाउने सहमति भयो । नेतृ शाक्यको रोजाइमा अरुण नेपाल र पशुपति चौलागाईलाई प्रदेशमा उठाईयो, त्यतिबेला शाक्यले आफ्नो मन्त्रिपरिषद्मा चाहिने नेताहरु हुन् भनेर उनीहलाई प्रदेशमा टिकट दिलाउन र मनाउन प्रयास गरेकी थिइन् । त्यो कुरा चौलागाई आफैले पनि केही नेताहरुसँग बताएका थिए । अनि, काठमाडौंमा ओलीको रोजाइका नेताहरुलाई बढ्ता टिकट दिन शाक्य राजी भइन् ।

निर्वाचन सकिएलगत्तै शाक्यको निवासमा पुगेर डोरमणि पौडेलले आफूलाई भौतिक पूर्वाधार मन्त्री बनाउन आग्रह गरेका थिए । हेटौंडा उपमहानगरपालिकामा मेयर हुँदाको अनुभवका आधारमा भौतिक पूर्वाधार मन्त्रालय चलाउने बताएका थिए ।

त्यसको जवाफमा शाक्यले सल्लाह गरौंला भनेकी थिइन् । तर, जब शाक्यलाई संसदीय दलको नेता बनाउने प्रयास भयो, त्यतिबेला परिस्थिति फेरियो । अनि, राष्ट्रपति भण्डारीबाट शाक्यको सट्टामा डोरमणि पौडेललाई उम्मेदवार बनाउने तय भयो ।

त्यसमा अध्यक्ष ओलीको पनि केही सीप चलेन । त्यही बेला राजेन्द्र पाण्डे एउटै समूह भएपनि अन्तिममा शाक्यविरुद्ध उभिए । अनि पौडेल मुख्यमन्त्री बन्न पुगे । त्यही दिनदेखि शाक्यले भण्डारी र ओलीको चर्को आलोचना गर्दै आएकी थिइन् । नेकपा कालमा पनि प्रचण्ड, माधव नेपाल, भीम रावलभन्दा चर्को विरोध शाक्यले गर्थिन् ।

तर, अहिले परिस्थिति फेरिएको छ । एक महिनायता शाक्य मौनजस्तै छिन् । मिडियामा आइरहने शाक्य अहिले चुपचाप छिन् । मिडियालाई कुनै प्रतिक्रिया पनि दिइरहेकी छैनन् । नेपाल समूहभित्र पनि सुरेन्द्र पाण्डे लाइनमा रहेकी शाक्य खासमा झलनाथ खनाल समूहमा पर्छिन् । त्यसैले हुनसक्छ, खनाल उपचारका लागि दिल्ली पुगेपछि शाक्य पनि मौन छिन् । त्यही मौनताको बिचमा प्रदेश सरकारको बजेट पारित गर्न सहयोग गरिन् ।

मन्त्रालय भागबण्डा मिलाउन राजेन्द्र पाण्डेको नेतृत्वमा कार्यदल बनाइयो । र, पार्टी एकताको पक्षमा उभिनुपर्ने तर्क गर्न थालिन् । यो रणनीतिक हो या ओलीसँग निकटता बढेको हो भन्ने चाहिं प्रष्ट भएको छैन् तर, पछिल्ला दिनमा अध्यक्ष ओलीसँ संवाद बढेको एमाले स्रोत बताउछ । साउन १४ गते विहीवारमात्रै ओली र शाक्यबीच २ घण्टाभन्दा बढी छलफल भएको छ ।

बालकोट पुगेर शाक्यले एकताकै पक्षमा कुरा राखेकी थिइन् । र, २०७८ साउन १५ भित्र सरकार फेरिएको अनुभूति गराउन डोरमणि पौडेललाई समयसीमा दिएकी थिइन् । तर, पौडेलले चुपचाप बसे र नेपाल पक्षका नेताहरुलाई मन्त्रिपरिषद्मा लगेका पनि छैनन् ।

केही महिनादेखि मुख्यमन्त्रीका लागि तयारी गर्न ओलीले शाक्यलाई आश्वासन दिएका छन् । त्यही आश्वासन पछि नेपाल पक्ष पौडेल नेतृत्वको सरकारमा सहभागी नभएको पनि बताइएको छ । नत्र, मन्त्रालयको संख्या बढाएर भएपनि नेपाल पक्षलाई समेट्न तयार भएको पौडेलले बताइरहेका थिए ।

(साँघु साप्ताहिक, २०७८ साउन १८ गते)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

− 1 = 4