बादललाई हराउने डा. खिमलाल देवकोटा मन्त्री बन्दै

राष्टिय समाचार समाज

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा रामबहादुर थापा बादललाई हराउने डा. खिमलाल देवकोटालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट मन्त्री बनाउने चर्चा छ ।

डा. देवकोटाको हैसियत स्वतन्त्र रहेकाले मन्त्री बनाएर माधव नेपाल पक्षलाई मन्त्रिपरिषदमा सहभागी गराएको सन्देश दिने तयारीमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् ।

डा. देवकोटालाई सत्तारुढ गठबन्धन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, माधव नेपाल पक्ष, जसपा र राष्ट्रिय जनमोर्चाका जनप्रतिनिधिहरुले भोट दिएर राष्ट्रिय सभामा निर्वाचित गराएका थिए ।

देवकोटालाई स्वतन्त्र हैसियतमा मन्त्री बनाउनेबारे प्रचण्डले माधव नेपालसित परामर्श गरिसकेको स्रोतको भनाइ छ । यस विषयमा प्रधानमन्त्री देउवासमेत सकारात्मक छन् ।

देवकोटालाई मन्त्री बनाएर लैजाँदा एमाले संस्थापन पक्षले कारवाही गर्न नसक्ने आधार पनि सत्तारुढ गठबन्धनलाई छ । त्यसैले पनि सत्तागठबन्धन टिकाउनका लागि पनि माधव नेपाल पक्षबाट देवकोटालाई मन्त्री बनाउने विषयमा गठबन्धनमा व्यापक चर्चा छ ।

त्यस्तै, सत्ता गठबन्धनमा माधव नेपाल पक्षका अर्का सांसद बेदुराम भुसालको पनि मन्त्री बन्ने चर्चा छ । उनले आफू स्वतन्त्र सांसद भएको यसअघि नै निवेदन दिएका थिए । तर, उनी एमाले सांसद नै भएकाले कानुनी जटिलता हुने देखिएको छ ।

याे पनि समाचार 

६ मन्त्रीसहितको भागवण्डा लिएर नेपाल पक्ष सरकारमा सहभागी हुने

काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी हुने बताइएको छ ।

मंगलबार विहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता नेपाललाई भेटेर भागवण्डा मिलाउने वचन दिएपछि सो पक्ष सरकारमा सहभागी हुन लागेको बुझिएको छ ।

प्रचण्डले नेपाल समूहलाई कम्तीमा ६ मन्त्रालय, एक वा दुई प्रदेश प्रमुख र राष्ट्रिय योजना आयोग भाग लगाइने भन्ने आश्वासन दिएको बताइएको छ ।

त्यस्तै, सो समूहलाई ४ वटा राजदूत समेत भाग लगाइएको बताइएको छ ।

प्रचण्डले आफूलाई नेता नेपालले आफ्नो पक्षबाट मन्त्री हुनेहरुको नाम पनि दिने भनेको बताए ।

यद्यपि नेपाल पक्षका नेताहरुले अहिलेसम्म सरकारमा जानेबारे केही खुलाएका छैनन् ।

एमाले एकताका लागि थप प्रयास गर्ने भनेको सो पक्षले सरकारमा जानु आफैँमा थप नयाँ तरंग हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

34 − 27 =