विदेशबाट नेपालीको शव ल्याउँदा जस्तो पीडा अरु उडान गर्दा हुन्न’ : क्याप्टेन विजय लामा

राष्टिय समाचार

काठमाडाैं । विदेशमा श्रम गर्न गएका नेपालीहरुको विभिन्न कारणले ज्यान जाने गरेको छ। मुख्य गन्तव्य मुलुकहरुमा कहिले दुर्घटनामा, कहिले निरासाजनक अवस्थाबाट पार पाउन आफैं मृत्यु रोज्ने जस्ता घटना हुने गरेका छन्।

त्यसरी विदेशमा ज्यान गुमाउनेहरुको शव सकेसम्म नेपाल ल्याएर परिवार, आफन्तको जिम्मा लगाउने गरिएको छ।

यसै क्रममा शनिबार बिहान २४ जना नेपालीको शव र तीनजनाको अस्तु मलेसियाबाट काठमाडौं ल्याइएको छ।

नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट विजय लामासहितको टिमले ती शवहरु ल्याएको थियो।

विदेशमा ज्यान गुमाएका नेपालीको शव ल्याउनु पर्दा आफूलाई निकै दुःख र पीडा हुने गरेको लामाले बताएका छन्।

उनले आफ्नो फेसबुक पेजमा अनुभव लेख्दै विदेशबाट नेपाली दाजुभाइ र दिदीबहिनीको शव ल्याउनु पर्दा निकै पीडा हुने उल्लेख गरेका हुन्।

फेसबुक पेजमा उनले लेखेका छन्–

-१७ जुलाइमा २२ वटा शवहरु

-२१ जुलाइमा एउटा शव

-२४ जुलाइमा २४ वटा शवहरु साथै ३ वटा अस्तुहरु

एक हप्ताभित्र मलेसियाबाट ३७ वटा शवहरु, तीनवटा अस्तु र अझै अर्को १८ वटा ल्याउनै छ बाँकी।

मनमा धेरै दुःख लाग्दालाग्दै पनि बाध्य छौं ल्याउनलाई। देशको स्थिति नै यस्तै छ। धनी र ठूला बडाहरुलाई मात्र हो त यो देश कि सबैलाई हो?

मलेसियाको क्वालालम्पुरबाट वैदेशिक रोजगारीमा गएर फर्कन लागेका यात्रुसँगै आज मेरो उडान फ्लाइट नम्बर आर ए ४१६ मा, रोजगारीको क्रममा कोभिड–१९ बाहेकको अरु विभिन्न कारणले ज्यान गुमाएका नेपाली दाजुभाइको २४ वटा शव तथा ३ वटा अस्तु पनि ल्याएका थियौं हामीले।

अझै अर्को उडानमा पनि १८ वटा शव ल्याउनु बाँकी छ रे!

मलेसियाबाट २४ जना नेपालीको शव ल्याइयो, क-कसको आयो?
विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदीबहिनीको शव ल्याउँदा जस्तो दुःख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न।

तथ्यांकमा मात्र सीमित हुने त होला देशको सरकारको निमित्त तर मृत व्यक्ति तथा उनका आश्रित परिवारको भने सर्वस्व गुमेको छ।

अब पनि पुगेन देशलाई बरबाद पार्दै नेपाली जनतालाई विदेश जान बाध्य बनाउने गरी एक आपसमा झगडा गर्न? यति देखेपछि त केही गर्नु नि देश र जनताको लागि। आफ्नो अनि पार्टीको स्वार्थ भन्दा माथि उठ्न सकिन्न र?

हार्दिक श्रद्धाञ्जली।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

43 + = 46