पार्टीले सोधेको स्पष्टीकरणबारे माधव पक्षीय सांसदले दिए जवाफ, यस्तो छ तर्क

राष्टिय समाचार समाज

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि स्पष्टीकरण सोधिएका माधव नेपाल पक्षका एमाले सांसदले पार्टीलाई स्पष्टीकरणको जवाफ दिएका छन् ।

अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेर पठाइएको जवाफमा प्रतिनिधिसभा पुनःस्थापनापछि विश्वासको मत नपाएका ओलीले राजीनामा दिनुपर्नेमा फेरि प्रधानमन्त्री बन्ने बाटो समातेकाले देउवालाई समर्थन गरेर ओलीलाई ढालेको बताएका छन् ।

प्रतिनिधिसभाको पुनःस्थापनापछि पार्टी अध्यक्ष ओलीले प्रधानमन्त्री र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने भए पनि त्यसो नगरिएकाले पछिल्लो कदम चाल्नु परेको उनीहरुको तर्क छ ।

‘प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रधानमन्त्रीले संसदीय दलको नेताबाट राजीनामा दिई अन्य कुनै सदस्यलाई संसदीय दलको नेतामा चयन गरी संविधानको धारा ७६ को उपधारा ३ को सरकार बनाउनु पर्दथ्यो,’ एक जवाफी पत्रमा भनिएको छ, ‘तर, त्यसो नगरी तत्कालीन प्रधानमन्त्री नै धारा ७६ को उपधारा ३ अन्तर्गतको प्रधानमन्त्री नियुक्त हुनुभयो ।’

पार्टी र दलको निर्णयबिना नै संविधानका विभिन्न प्रावधानअन्तर्गत आफैं प्रधानमन्त्री बन्न खोज्नु पार्टीको विधान र राजनीतिक नैतिकताविपरीत कुरा भएको दाबी गरिएको छ ।

याे पनि समाचार 

एमाले नेता खनाललाई अघिल्लो सरकारद्वारा ३० लाख उपचार खर्च निकासा

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कानून विपरित ३० लाख रुपियाँ उपचार निकासा गरेको खुलासा भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका खनालले भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका छन् । खनालको मिर्गौलामा समस्या छ । उनका दुबै मिर्गौला प्रत्यारोपण गरिनेछ ।

ओली नेतृत्वको मन्त्रिपरिषदले एमालेका नेता खनालको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको थियो ।

अर्थ मन्त्रालय उच्च स्रोतका अनुसार ओलीले मन्त्रिपरषदबाट ३० लाख रुपियाँ दिने निर्णय गराएका छन् ।

तत्कालीन अर्थमन्त्री पौडेल पूर्वप्रधानमन्त्री खनाललाई ३० लाखा रुपियाँ निकासा गरेको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।

२०७५ असोज २ गतेदेखि लागू भएको जनस्वास्थ्य ऐनको दफा ३० मा ‘प्रचलित कानुनमा जुनसुकै कुुरा लेखिएको भएता पनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोका लागि लाग्ने खर्च नेपाल सरकारले उपलब्ध गराउने छैन’ भनिएको छ ।

केही दिन अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाले खनालको उपचार खर्च सरकारले व्यहोर्ने जनाएका थिए । देउवाले उपचार खर्च दिनुभन्दा अगाडि नै तत्कालीन प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलले खनाललाई तीस लाख रुपियाँ दिइसकेको खुलासा भएको छ ।

पूर्वप्रधानमन्त्री खनाल आफ्ना उपचार गर्न नसक्ने अवस्थामा छैनन् । उनी सम्पन्न परिवारका व्यक्ति हुन् । उनका छोरा नाम चलेका ठेकेदार पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *