के हो अंशबण्डा ? बाबुआमाले छोराछोरीलाई अंश दिन्न भन्न पाउँछन् ?

राष्टिय लाेकसेवा तयारी समाज

नवीन धिताल

सगोलमा रहेको पारिवारिक सम्पत्तिलाई अंशियारहरूबीच भागवण्डा लगाउने प्रक्रियालाई कानुनी भाषामा अंशबण्डा भनेर बुझिन्छ । सामान्यतया पितापुर्खा, बाबुबाजेबाट हक हस्तान्तरण हुँदै आएको सम्पत्ति र एकाघर परिवारका सदस्यहरूको एकल तथा संयुक्त प्रयासबाट आर्जन गरेको वा बढे/बढाएको सम्पत्ति अंशियारबीच अंशबण्डा गर्नुपर्छ भन्ने कानुनी मान्यता छ ।

अंशबण्डा जीवित भएका व्यक्तिबीच गर्नुपर्ने कानुनी व्यवस्था साविक मुलुकी ऐनले गरे तापनि हालको मुलुकी देवानी संहिता २०७४ ले अंशबण्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशुसमेत अंशियार हुने व्यवस्था गरेको छ ।

को हुन् त अंशियार ?

कानुनले एकाघरका पति, पत्नी, बाबु, आमा, छोरा, छोरी गरी छ प्रकारका नाता–सम्बन्धका व्यक्तिलाई सगोलको सम्पत्ति अंशबण्डा गर्ने प्रयोजनको लागि अंशियार मानेको छ । सगोलमा रहेको सम्पत्तिमा प्रत्येक अंशियारको समान हक हुने, अंशबण्डा गर्दाका बखत कुनै अंशियारमध्येको कुनै महिला गर्भवती भएमा र निजले जन्माउने शिशुसमेत अंशियार हुने अवस्था भएमा र त्यसरी जन्मने शिशुलाई समेत अन्य अंशियारसरह भाग छुट्याएर मात्र अंशबण्डा गर्नुपर्ने कानुनी व्यवस्था मुलुकी देवानी संहिता २०७४ ले गरेको छ ।

तर, साविक मुलुकी ऐनले भने जीवित व्यक्तिलाई मात्र अंशियारा मान्ने व्यवस्था गरेको थियो । नयाँ व्यवस्थाअनुसार गर्भमा रहेको शिशुलाई अंशभाग राखिएको अवस्थामा जिउँदो शिशु नजन्मिएमा त्यस्ता शिशुको लागि छुट्याइएको अंश अन्य अंशियारले बाँडेर खान पाउने वैकल्पिक व्यवस्थासमेत कानुनले गरेको छ ।

सम्बन्ध विच्छेद भएका अभिभावकका छोराछोरीको अंश हक के हुने ?

नेपालको प्रचलित कानुनबमोजिम विवाह हुन नसक्ने, विवाह भएको नमानिने वा वैवाहिक सम्बन्ध अन्त्य भएका आमाबाबुबाट जन्मिएका छोराछोरीले अंश पाउने व्यवस्था छ । बाबुको पहिचान नभएका छोराछोरीले आमाको सम्पत्तिबाट मात्र अंश पाउने व्यवस्था मुलुकी देवानी संहिता २०७४ ले गरेको छ । लुकाइछिपाई वा सार्वजनिक नगरी बाहिर राखेका पत्नीले वा निजबाट जन्मेका छोराछोरीले पति वा बाबु मरेपछि अंशमा दाबी गर्न नपाउने व्यवस्था नयाँ ऐनले गरेको छ ।

कस्तो अवस्थामा अंश माग्न सकिन्छ त ?

सगोलको सम्पत्ति भोगचलन गरेर बसेका पति, पत्नी, बाबु, आमा, छोरा, छोरीले पत्नी, पति, छोरा, छोरी, बाबु र आमालाई आफ्नो इज्जत आमदअनुसार खानलाउन दिन र आर्थिक हैसियतअनुसार शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था गर्नुपर्ने दायित्व हुन्छ । त्यस्तो दायित्व पूरा गर्नुपर्ने अवस्थाका व्यक्तिले दायित्व पूरा नगरेमा वा समान हैसियतका व्यक्तिमा असमान व्यवहार भएको महसुस भएमा, परिवारको संख्या बढ्न गई सबैलाई हेरविचार गर्न नसक्ने अवस्था भएमा वा कुनै अंशियारलाई छुट्टै बस्दा सहज हुने अवस्था महसुस भएमा त्यस्ता असन्तुष्ट अंशियारले आफ्नो अंश लिई भिन्न हुन सक्छन् ।

सबै अंशियारबीच आपसी सहमति भएमा निजहरू जतिखेर पनि अंश लिई भिन्न बस्न सक्ने कानुनी व्यवस्था छ । पति, बाबु, आमा वा घरको मुख्य भई काम गर्ने व्यक्तिलाई सबै अंशियारहरू एउटै परिवारमा बस्नुभन्दा अंशबण्डा गरी अलग–अलग बस्न उपयुक्त लागेमा अंशबण्डा गरी भिन्न हुन सक्ने अवस्थाको परिकल्पना कानुनले गरको छ ।

अंश लिन एकल महिलालाई पनि बाटो खुला

श्रीमानको मृत्यु भएका एकल महिलाले जतिखेर पनि आफ्नो अंश लिई भिन्न हुन सक्ने व्यवस्था छ । निजले अर्को विवाह गरेमा निजले अंशबापत पाएको सम्पत्ति अघिल्लो पतितर्फ छोराछोरी भएमा तिनले र नभएमा निज आफैँले लिन पाउने व्यवस्था छ ।

अंश लिन नचाहेमा छोडपत्र गर्न सक्ने

कुनै अंशियारले पैतृक सम्पत्तिबाट अंश लिन नचाहेमा आफ्नो अंश आंशिक रूपमा लिई वा नलिई वा अंशबापत केही नगदी वा जिन्सी मात्र लिई अंश छोडपत्र गर्न सक्ने व्यवस्था छ । यसरी अंश छोडपत्र गर्दा कुनै अंशियारको पति, पत्नी वा उमेर पुगेका छोराछोरी भएमा त्यस्ता पति, पत्नी वा छोराछोरीको मञ्जुरी लिएमा मात्र अंश छोडपत्र गर्नुपर्छ । कुनै अंशियारले अंश छोडपत्र गरेमा कानुनले निजको अंश भए सरह मान्ने व्यवस्था छ । तर, केही पनि नलिई अंश छोडपत्र गर्न सकिँदैन धेरथोर अंशबापत केही न केही बुझेको हुनुपर्ने कानुनी व्यवस्था छ ।

आमाबाबुको सम्पत्ति पत्नी र छोराछोरीका लागि निजी आर्जन नहुने

आमाबाबुको नाममा भएको जुनसुकै प्रकारको सम्पत्ति छोराछोरीको लागि पैतृक सम्पत्तिसरह हुन्छ । सो सम्पत्तिबाट अंश पाउनु छोराछोरीको नैसर्गिक हक मानिन्छ । आमाबाबुले जेजस्तो व्यहोराबाट सम्पत्ति प्राप्त वा आर्जन गरेको भए पनि छोराछोरी र पत्नीका लागि निजी आर्जनको र बण्डा नलाग्ने सम्पत्ति भनी दाबी लिन सक्ने अवस्था देखिँदैन ।

छोराछोरीले आफ्नो दायित्व पूरा नगरे तापनि आमाबाबुले अंश दिन्न भन्न सक्ने अवस्थाको परिकल्पना कानुनमा छैन । छोराछोरीले अंश दाबी गरेमा अंश दिनैपर्ने बाध्यात्मक व्यवस्था ऐनमा छ । तर, दाबी नगरेमा वा लिन नचाहेमा भने आफूखुशी गर्न सक्ने हुन सक्छ ।

अंशबण्डा गर्दा ऋण पनि बण्डा लाग्ने

अंशबण्डा गर्दा सगोलको सम्पत्ति र सगोलको ऋण घटी–बढी नहुने गरी बण्डा गर्नुपर्ने, असल कमसल मिलाई अंशियारहरूको मञ्जुरीबमोजिम र त्यसरी मञ्जुरी हुन नसकेमा गोला हाली बण्डा गर्नुपर्ने, कुनै सम्पत्तिमा विवाद परेमा त्यस्तो विवाद समाप्त भएपछि अंशबण्डा गर्नुपर्ने र त्यस्तो विवाद समाधान हुन धेरै समय लाग्ने भएमा विवाद परेको सम्पत्ति बाँकी राखी अन्य सम्पत्ति बण्डा गर्नुपर्नेलगायत कानुनी व्यवस्था छ ।

अंशबण्डा गर्दा त्यसको लिखत तयार गरी साक्षी राखेर, लिखतमा साक्षी र अंशियारको सहीछाप गरी कानुनको रीत पु¥याई सम्बन्धित कार्यालयबाट पारित गराउनुपर्छ । हाल यस्तो लिखत पारित गराउने काम सम्बन्धित जिल्लाका मालपोत कार्यालयले गर्ने गर्छन् ।

धितोबन्धक राखेको सम्पत्तिको पनि अंशबण्डा गर्नुपर्ने

कुनै अंशियारले अंशबण्डा हुने सम्पत्ति धितोबन्धक राखेको देखिएमा अदालतले सबै अंशियार मञ्जुर भएमा सगोलको सम्पत्तिबाट त्यस्तो सम्पत्ति फुकुवा गराई वा फुकुवा गराउने दायित्व हुने गरी अंशबण्डा गरी दिनुपर्ने व्यवस्था छ । सबै अंशियार मञ्जुर हुन नसकेमा घरको मुख्य भई काम गर्ने व्यक्तिले अंशबण्डा हुने सम्पत्ति धितोबन्धक राखेको वा एकाघरका उमेर पुगेका अरूले घरको मुख्य भई काम गर्ने व्यक्तिको समेत सहीछाप गरी धितोबन्धक राखेको थाहा पाएमा अदालतले सगोलको सम्पत्तिबाट त्यस्तो सम्पत्ति फुकुवा गराई वा फुकुवा गराउने दायित्व हुने गरी अंशबण्डा गर्नुपर्ने कानुनी व्यवस्था छ ।

बाटो वा निकास बन्द हुने गरी अंशबण्डा गर्न नहुने

अंशबण्डा गर्दा कुनै अंशियारको भागमा परेको घर वा जग्गामा आउन जानको लागि बाटो वा निकास नहुने भएमा र अन्य अंशियारको जग्गाबाट निजलाई बाटो वा निकास दिन मिल्ने भएमा सम्बन्धित अंशियारले त्यस्तो घर वा जग्गामा बाटो वा निकास दिनुपर्ने गरी बण्डा गर्नुपर्ने व्यवस्था कानुनमा छ । कसैको पनि बाटो निकास बन्द हुने गरी अंशवण्डा गर्नु नहुने कानुनी व्यवस्था छ ।

हदम्यादको व्यवस्था

अंशबण्डासम्बन्धी व्यवस्थाबमोजिम भए÷गरेको काम–कारबाहीबाट मर्कापर्ने व्यक्तिले नालिस गर्न सक्ने व्यवस्था छ । अंशबण्डा नै नभएको वा अंशबण्डा हुँदा गोश्वाराको लिखत भएको र लिखत नभए पनि हिसाब गरी दुवै पक्षले भोग गरेकोमा जहिलेसुकै, अंशबण्डामा चित्त नबुझेमा त्यस्तो बण्डा भएको मितिले तीन महिनाभित्र, सम्पत्ति लुकाए वा छिपाएको सम्बन्धमा अंशियारको जीवनकाल रहेसम्म र त्यसबाहेक अन्य अवस्थामा त्यस्तो काम–कारबाही भए÷गरेको मितिले छ महिनाभित्र सम्बन्धित अदालतमा उजुरी गर्न सक्ने कानुनी व्यवस्था छ ।

प्रतिपादित नजिर

पैतृक सम्पत्तिमा बाबु, आमा, लोग्ने र श्रीमतीले जथाभावी गरी अंशियारमध्ये कसैलाई काखा र कसैलाई पाखा राख्ने गरी पैतृक सम्पत्तिको बाँडफाँड र हक हस्तान्तरण गर्न मिल्दैन । यसो गर्दा आमाबाबुले आफूले पैतृक वा स्वआर्जन जुनसुकै तरिकाबाट आर्जन गरेको भए पनि सन्ततीको लागि पैतृकसरह हुन्छ भन्ने कुरा पनि हेक्का राख्नुपर्छ । साथै, वृद्धावस्थामा पालनपोषण गर्ने भन्ने नाममा सन्ततीबीच प्रत्यक्ष रूपमा देखिने र महसुस हुने गरी भेदभाव गर्नसमेत नमिल्ने ।

पत्नीले पतिबाट अंश पाउन, महिला पतिको सत्यमा रहेको हुनुपर्ने र छोराछोरीले पिताबाट अंश पाउनका लागि निज आफ्नो आमाबाबुबाट जन्मेको जैविक सन्तान हुनुपर्ने वा कानुनबमोजिम धर्मपुत्र÷पुत्री राखेको हुनुपर्छ । सोबाहेक अन्य अवस्थाका कुनै व्यक्तिले पत्नी र छोराछोरीको रूपमा अंशमा दाबी गर्न सक्ने अवस्था रहँदैन । विधिवत् पतिपत्नी नरहेको अवस्था र जैविक सन्तान नदेखिएको अवस्थामा त्यस्ता व्यक्तिलाई अदालतले अंश दिलाउनु कानुनविपरीत हुन जान्छ ।

सगोलको सम्पत्ति भन्नाले पुख्र्यौलीबाट प्राप्त सम्पत्ति वा पैतृक सम्पत्ति, निजी सम्पत्ति बाहेकको अंशियारको नाममा रहेको सम्पत्ति र सगोलको खेती, उद्योग, व्यापार–व्यवसायबाट आर्जन गरेको वा सोबाट बढे÷बढाएकोलाई बुझाउँछ भने निजी सम्पत्तिभित्र कस्तो सम्पत्ति पर्दछ भनी हेर्दा सगोलको सम्पत्ति वा सगोलको खेती, उद्योग, व्यापार–व्यवसायबाट बढे÷बढाएको वा आर्जन गरेको सम्पत्तिबाहेक अन्य कुनै अंशियारले आफ्नो ज्ञान, सीप वा प्रयासबाट निजी आर्जन गरेको सम्पत्तिलाई सम्झनुपर्ने ।
मूल अंशियारबीच बण्डा नभए पनि तल्लो पुस्ताका अंशियारले आफ्नो पति, पिताबाट प्राप्त गर्ने अंशहक बण्डा गरी दिनुपर्ने हुन्छ । अन्यथा तल्लो पुस्ताका अंशियारहरूको जीवनयापनमा नै समस्या आउन सक्ने हुन्छ । मूल अंशियारको बीचमा बण्डा नभए पनि पछिल्लो पुस्ताका छोराछोरीहरूले मूल अंशियारबीचको हकहिस्सा छुट्याई आ–आफ्नो पिता, पतिको हिस्साबाट अंश पाउने ।

कुनै अंशियारको निजी आर्जनको सम्पत्ति बण्डा गर्न कर लाग्दैन भनी व्याख्या गर्दा सोही मुलुकी ऐन, अंशबण्डा महलको १० नं. ले सिर्जना गरेको लोग्ने र आमाबाबुको दायित्वसमेतलाई विचार गर्नुपर्ने हुन्छ । अंशबण्डाको १० नं. को कानुनी व्यवस्थाबाट लोग्ने वा आमाबाबुले जुनसुकै व्यहोराबाट प्राप्त गरेको सम्पत्ति छोराछोरी र श्रीमतीको लागि पैतृक सम्पत्ति मान्नुपर्ने हुन्छ । बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति निजका छोराहरूको लागि पैतृक सम्पत्ति भई अंशहक लाग्ने ।यस ऐनबमोजिम अंशहकको दाबी गर्ने अंशियारले पारिवारिक दायित्व पनि पूरा गर्नुपर्ने हुन्छ । दायित्व पूरा नगरी अंशहक मात्र खोज्ने अंशियारले सामाजिक रीतिरिवाज, इज्जत, आमदको पनि ख्याल गरोस् भन्ने अपेक्षाका साथ उत्तरदायित्व बोध गराउने उद्देश्य कानुनले राखेको देखिन्छ ।

(लेखक : पत्रकारिता र कानुन ब्यबसायमा अनुभव संगालेका धिताल अधिवक्ता हुन् । धिताल एन्ड एसोसिएट्ससँग आबद्ध उनले कर्पोरेट कानुनका क्षेत्रमा काम गरिरहेका छन् ।)

स्राेत : नेपाल हाेम्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 3 =