निर्वाचन आयोगले भन्यो : नेकपा (माओवादी केन्द्र) वैधानिक, बादल–टोपबहादुरहरुको निवेदन खारेज

राष्टिय समाचार समाज

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) विघटन गर्नुपर्ने माग गरी दर्ता भएको निवेदन निर्वाचन आयोगले खारेज गरेको छ।

माओवादी केन्द्रविरुद्ध परेको निवेदनमाथि आइतबार निर्वाचन आयोगले छानबिन गरेको हो। माओवादी विघटन गर्नुपर्ने माग गरी दर्ता भएको निवेदन खारेज गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए। “माओवादी केन्द्र वैधानिक रहेको आयोगले ठहर गरेको छ। यसविरुद्ध परेको निवेदन खारेज भएको छ,” आयोगका प्रवक्ता श्रेष्ठले हिमालखबरसँग भने।

नेकपा (एमाले)मा प्रवेश गरेका पूर्वमाओवादी नेताहरूतर्फबाट अधिवक्ता सरोज बुढाथोकीले माओवादीविरुद्ध आयोगमा निवेदन दिएका थिए। उनले पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र)को वैधानिकतामा प्रश्न उठाउँदै खारेज गर्न माग गरेका थिए।

आयोगमा निवेदन परेपछि पूर्वमाओवादी नेताहरू पनि आयोग पुगेका थिए। टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीले आयोग पुगेर निवेदनमाथि छानबिन गर्न माग गरेका थिए।

नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा माओवादी केन्द्र वैधानिक रहेको आयोगले ठहर गरेको प्रवक्ता श्रेष्ठले बताए।

यससँगै आयोगले भविसोर पराजुलीलाई सचेत गराउने निर्णय गरेको छ। उनले नेकपा (माओवादी केन्द्र)को अध्यक्ष आफू भएको दाबी गर्दै आफूलाई आधिकारिकता प्रदान गर्न आयोगमा निवेदन दिएका थिए।

उनी अध्यक्ष रहेको पार्टी आयोगमा दर्ता नभएको जनाउँदै अर्को दलको लेटरप्याड प्रयोग गरी गलत विवरण पेश गरेकोमा सचेत गराई आयोगमा अभिलेखिकरण गर्ने निर्णय गरेको हो।

याे पनि समाचार 

प्रधानमन्त्री बन्न बाटाे खाेज्दै बामदेव गाैतम भन्छन् ‘राष्ट्रिय सभा सांसद पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ’

काठमाडाैं । नेकपा (एमाले)का सांसद वामदेव गौतमले राष्ट्रिय सभाका सांसद पनि प्रधानमन्त्री बन्ने व्यवस्था गर्न माग गरेका छन्।

संविधानमा प्रतिनिधि सभा सदस्य मात्रै प्रधानमन्त्री बन्न पाउने व्यवस्था छ। “राष्ट्रिय सभा र प्रतिनिधि सभाबीचको विभेद अन्त्य गर्नुस्,” राष्ट्रिय सभाको आइतबार बसेको बैठकमा बोल्दै गौतमले भने, “विभेद त्यतिवेला हट्छ, जतिवेला राष्ट्रिय सभाका सांसद पनि प्रधानमन्त्री बन्न पाउँछन्।”

आफ्नो यो प्रस्ताव राष्ट्रिय सभा बैठकबाट पारित गर्न समेत गौतमले आग्रह गरे। उनले यसअघि पनि राष्ट्रिय सभा सदस्यले पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशाेधन गर्नुपर्ने बताएका थिए।

त्यस्तै, गौतमले प्रतिनिधि सभा विघटन भएको अवस्थामा राष्ट्रिय सभामा बजेट प्रस्तुत गर्ने प्रावधान राख्न माग गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

+ 36 = 38