माओवादी केन्द्र खारेज गराउन एमाले नेताको छटपटी, हस्याङफस्याङ गर्दै निर्वाचन आयोग

राष्टिय समाचार

काठमाडौँ । सर्वोच्च अदालतको फैसलाबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रमा नफर्किई एमालेमै रहेका पूर्व माओवादी नेताहरू अहिले माओवादी केन्द्रको दर्ता खारेज गराउन कस्सिएका छन्।

एमालेमा सक्रिय भएपछि दल दर्ता एन अनुसार पार्टीसँगै प्रतिनिधि सभा र राष्ट्रिय सभाको सदस्यको जिम्मेवारी मुक्त भएका नेताहरू माओवादी केन्द्रको वैधानिक हैसियत नभएको भन्दै दल दर्ता खारेज गराउन दबाब दिन आयोग धाइरहेका छन्।

अधिवक्ता सरोज बुढाथोकीले बुधवार माओवादी केन्द्रको महाधिवेशन नभएको दाबी गर्दै दल दर्ताको माग गर्दै आयोगमा निवेदन दर्ता गराएका थिए। सो निवेदन चाँडो टुङ्ग्याउन माग गर्दै शुक्रवार टोपबहादुर रायमाझी लगाएका पूर्व माओवादी नेताहरू आयोग गएका थिए।

लीलाबहादुर थापाको नेतृत्वमा आयोगमा पुगेका पूर्व माओवादी नेताहरूले बुढाथोकीको नामबाट आयोगमा निवेदन दर्ता गराएका थिए।

निवेदन दर्ताको दुई दिनपछि सांसद र मन्त्री पद गुमाएका रायमाझी, प्रभु शाह, मणि थापा आयोग गएर

प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियालाई भेटेका थिए। उनीहरूले थपलियालाई माओवादी केन्द्रको दर्ता खारेज गर्न दबाब दिएका थिए।

उनीहरूले पार्टीको वैधानिकता सकिएकाले दलनै खारेज गर्न थपलियालाई आग्रह गरेका थिए। थपलियाले उनीहरूलाई दल खारेजको निवेदन आएको र अध्ययन गरेर कानुन अनुसार निर्णय गर्ने जवाफ दिएको आयोग स्रोतले उकेरालाई जानकारी दियो।

थपलियालाई भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रायमाझीले २०६९ सालमा माओवादीको महाधिवेशन भएपछि अहिलेसम्म अर्को महाधिवेशन नभएको दाबी गरे।

‘२०६९ मा महाधिवेशन भएको थियो। त्यो पनि प्रक्रिया पुरा नगरी भयो। विधान प्रतिवेदन र नेतृत्व चयन गर्नुपर्ने। नेतृत्व कि सर्वसम्मत या निर्वाचनबाट चयन हुनुपर्नेमा ताली पिटेर नेतृत्व चयन भएको थियो,’ उनले भने ‘त्यसयता महाधिवेशन भएको छैन। अवैधानिक पार्टीले वैधानिक जनप्रतिनिधीहरुलाई कारबाही गरिरहेको छ। यस्तो खालको अराजकता नहोस् भनेर आयोग आएका हौँ।’

पद गुमेको रिस पोख्दै

अहिले माओवादी केन्द्रको खारेजीको माग गर्दै निर्वाचन आयोग धाइरहेका नेताहरू माओवादीको सशस्त्र सङ्घर्षको समयदेखि नै पार्टीमा संलग्नहरू हुन्।

एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेपछि उनीहरू सो पार्टीमा सहभागी भएका थिए। नेकपामा बढेको विवादसँगै उनीहरू एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको पक्षमा सक्रिय भए। नामको कानुनी विवादमा सर्वोच्चले नाम अवैध ठहर गर्दै दुवै पार्टीलाई एकता अगाडिको अवस्थामा फर्काएपछि उनीहरू मूल पार्टीमा नफर्किई एमालेमै रहे।

उनीहरूलाई ओलीले एमालेको विभिन्न संरचनामा नियुक्त गरे। उनीहरू सांसदको हैसियतसँगै सरकारमा समेत सहभागी थिए। राजनीतिक दल त्याग गरे पनि कानुनी प्रक्रिया पुरा नभएपछि माओवादीले आफ्नो पार्टीको नाममा निर्वाचित भएका उनीहरूको पद खारेजीको सिफारिस गर्‍यो। उनीहरूको सांसद पद गुम्यो।

सांसद पद गुमे पनि गैर सांसदको रूपमा मन्त्री भइरहेकोमा सर्वोच्चले त्यसलाई पनि अवैध ठहर्‍याएपछि उनीहरूको मन्त्री पद समेत गुम्यो।

एमालेले बढाएको छटपटी

रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशङ्कर लाल चौधरीको पद गुमेपछि उनीहरू एमालेमा घुलमिल हुन सकेनन्। एमालेका असन्तुष्ट पक्षले पार्टीको संरचना २०७७ जेठ २ को अवस्थामा फर्कनुपर्ने माग राखिरहेका छन्। यदि सो माग पुरा भए उनीहरूले एमालेमा पाएको हैसियत गुमाउने छन्।

सहमतिका लागि एमाले अध्यक्ष ओली समूह र माधव नेपाल समूहबिच दैनिक छलफल भइरहेको छ। अर्कोतिर एमालेमा सहभागी भएका प्रभु शाहले एमालेको नामै बदल्नुपर्ने र राजनीतिक सिद्धान्त जबज छाड्नुपर्ने माग राखे। ‌ओलीले उनको माग सुनेका छैनन्। र, सम्भव पनि छैन।

पदीय स्वार्थका लागि एमालेमा लाग्दा अहिले न एमालेमा भिज्न सके। न उनीहरू माओवादी रहे। यही छटपटी उनीहरूले निर्वाचन आयोगमा देखाइरहेका छन्।

पद फर्किने आसमा खारेजीको माग

२०६९ माघमा भएको महाधिवेशनपछि २०७३ मा अर्को महाधिवेशन गर्ने भनिए पनि हालसम्म महाधिवेशन नभएकाले माओवादी केन्द्रले गरेको कारबाही वैधानिक नभएको एमालेमा लागेका पूर्व माओवादी नेताहरूको तर्क छ।

तर २०७३ सालमा महाधिवेशन भएकाले वैधानिकता गुमाएको दाबी गरेका पूर्व माओवादी नेताहरू २०७४ को निर्वाचनमा माओवादी केन्द्रकै उम्मेदवार बनेर सङ्घीय संसद्, प्रदेश सांसद र स्थानीय तहमा निर्वाचित भएका थिए।

संसद् विघटनबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहस सकिएर फैसलाको चरणमा प्रवेश गरिसकेको छ। प्रतिनिधि सभा पुन ब्युँतने सम्भावना रहेको र उता एमालेमा समेत ओली र नेपालबिच सहमति हुनसक्ने देखिएपछि राजनीतिक भविष्य जोगाउन माओवादी केन्द्रलाई दबाब दिन उनीहरूले दल दर्ता खारेजीको विषय उचालेको देखिन्छ। माओवादीसँग सम्बन्ध नै नभएका उनीहरूको माग पुरा हुने सम्भावना भने कम देखिन्छ। उकेराबाट 

Leave a Reply

Your email address will not be published.

80 + = 82